Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ घोराही नगरको प्रथम भेला  - Janabato

राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ घोराही नगरको प्रथम भेला 

भरत श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन

राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ घोराही नगरको प्रथम भेला 

हेमन्त वली । दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उद्योग वाणिज्य महासंघ दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीको प्रथम भेला शनिबार घोराहीमा सम्पन्न भएको छ ।

दाङ उद्योग बाणिज्य संघको सभाहलमा भएको प्रथम नगर भेलालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला सेक्रेटरी तथा कार्यक्रमका प्रमुख अतिथि प्रदीपले उद्योगी व्यापारीका हक, अधिकार प्राप्तिका लागि सम्पूर्ण व्यवसायीहरु महासंघमा संगठित हुन आह्वान गरे । उनले राष्ट्रिय पुँजीलाई धराशायी बनाएर विदेशी पुँजी प्रोत्साहित गर्ने दलाल राज्यका विरुद्ध निर्मम संघर्ष गर्नुपर्ने धारणा राखे । 

एक फरक प्रसङ्गमा प्रमुख अतिथी प्रदीपले नेपालमा संसदीय व्यवस्थाको असफलताले व्यापार, व्यवसायमा बर्सेनि ठूलो घाटा हुने बताए । उनले आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमत संग्रहको एजेन्डा अघि सारेको बताए । जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद कि दलाल पुँजीवाद भन्ने विषयमा जनतालाई व्यवस्था छान्न दिनु लोकतान्त्रिक मूल्य मान्यताको उच्चतम प्रयोग भएको धारणा राखे ।

राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष भद्र बहादुर वली ‘सुधिर’ ले कोरोना माहामारीमा राज्यले व्यापारीहरुबाट चर्को कर असुली गरी भ्रस्टाचार, लुटपाट गरेको बताए । उनले यो भ्रष्ट राज्यबाट कोहि पनि राष्ट्रिय पुँजीपती, व्यवसायीहरुको संरक्षण नहुने धारणा राखे ।

युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक पाटनले आफ्नो व्यवसायिक हक, अधिकार स्थापित गर्नको लागि जिल्लामा सङ्गठन अब्बल र क्रियाशिल हुनुपर्ने बताए । उनले संसदीय व्यवस्था नै सबै क्षेत्रमा समस्या बनिरहेको बेला व्यापार, व्यवसायमा पनि ठूलो असर परेको जिकिर गरे ।

नेकपा घोराही नगर इन्चार्ज तिलकले नगरमा सङ्गठनले व्यवसायका सबै खाले समस्याहरुको समाधान गर्दै उद्योगी, व्यापारिहरुलाई संगठित गर्नु पर्ने धारणा राखे । उनले लुटिखाने, उद्योगी, व्यापारीहरुलाई टाट पल्टाउने व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी राज्य व्यवस्था अपरिहार्यको सन्देश बोकेर व्यवसायिका घरदैलोमा पुग्न अपिल गरे ।

अखिल (क्रान्तिकारी) राप्ती ब्युरो सदस्य अनिलले संसदीय व्यवस्थाको संकट नै नेपालमा उद्योगी व्यवसायीहरुको मुल समस्या भएको जिकिर गरे । उनले यो व्यवस्थालाई जरैदेखि उखेलेर नफालेसम्म समृद्धि सम्भव नभएको भन्दै एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको विकल्प नरहेको बताए ।

सुर्यमणी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता दिनेश गौतमले गरेका थिए भने सहजीकरण भुपेन्द्र भुसालले गरेका थिए ।

प्रथम नगर भेलाले भरत श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय घोराही उपमहानगरपालिका कमिटी चयन गरेको छ ।