सीमामा भारतीय एसएसबीद्धारा अवरोध

भारतीय सीमा सुरक्षा बलको अवरोधले कल्भर्ट निर्माण रोकिएको छ ।

सीमामा भारतीय एसएसबीद्धारा अवरोध


मंसिर २४, बर्दिया । दक्षिणी सीमा गुलरिया नगरपालिकाको रजनवामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधले कल्भर्ट निर्माण रोकिएको छ । सदरमुकाम गुलरियाको रजनवादेखि पूर्व-पश्चिम राजमार्ग जोड्ने बारबर्दिया नगरपालिकास्थित रम्मापुर जोड्ने उत्तर-दक्षिण सहायक राजमार्ग निर्माण भइरहेको छ ।

 
चित्तलहाका एसएसबीले दसगजामा खाडल भएको ठाउँमा कल्भर्ट निर्माण गर्न रोक लगाएको छ । दसगजादेखि करिब ५० मिटर वरसम्म सडक निर्माण गरिए पनि कल्भर्ट निर्माण रोकिएपछि ठूला सवारी साधन नेपाल-भारत आउजाउ नहुने निश्चित छ । सीमामा तैनाथ सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले उक्त सडक नाका नभएको र दसगजामा दुबै मुलुकका सरकारको अनुमतिमा मात्रै संरचना निर्माण गर्न पाउने प्रावधान रहेको बताए ।

‘यहॉ नाका बनाउने योजना भइरहेको छ । नाका बन्न साथ दसगजामा कल्भर्ट निर्माण गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘यहाँको दसगजामा पुरानो सानो कल्भर्ट जीर्णो अवस्थामा रहेको छ । दसगजा मिचेर भारतले चित्तलहवामा कालोपत्रे सडक निर्माण गरेको छ ।’

करिब दुई महिनाअघि सडक निर्माणमा एसएसबीले अवरोध गरे पनि दुबै मुलुकका सुरक्षा अधिकारीको सहमतिमा दसगजादेखि ५० मिटर वर काम गर्न दिएको छ । निर्माण कम्पनी पिआरएल कुमार जेभी, काठमाडौंले पूर्व-पश्चिम राजमार्गको रम्मापुरदेखि गुलरियास्थित रजनवासम्म सडक निर्माण भइरहेको छ । जेभीका ईन्जिनियर अशोक देवकोटाले दसगजामा कल्भर्ट निर्माण रोकिएको बताए । 'सडक निर्माण भने भइरहेको छ',उनले भने, 'दसगजासम्म सडक निर्माण रोकिए पनि गुलरिया हुँदै रम्मापुरसम्म काम भइरहेको छ ।'