प्रतिबन्धित नेकपाविरूद्व कठोर बन्न गृहमन्त्रालयको निर्देशन

सरकारले कठोर कदम चाल्ने तयारी

प्रतिबन्धित नेकपाविरूद्व कठोर बन्न गृहमन्त्रालयको निर्देशन


बुटवल । २४ मंसिर । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर बन्ने संकेत गरेको छ । प्रतिबन्धित नेकपाले ‘हिंसात्मक गतिविधि’ र ‘चन्दा आतंक’ बढाएको भन्दै सरकारले कठोर कदम चाल्ने तयारी गरेको हो ।

नेकपाले देशभर आफ्नो राजनीतिक अभियान सञ्चालन गरिरहेको बेला पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे समिक्षा गर्न गृहमन्त्री रामबहादुर थापा बादलले आज सुरक्षा समितिको बैठक डाकेका छन् । बैठकमा सुरक्षा निकायका प्रमुखहरु सहभागी भएको बुझिएको छ । बैठकले प्रतिबन्धित नेकपाप्रति अब कसरी प्रस्तुत हुने देखि राजावादीको प्रदर्शन रोक्ने उपायबारे समेत रणनीतिको तयारी गर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार गृहमन्त्री बादलले विद्रोह राजनीतिक दलप्रति कडा बन्न निर्देशन दिइसकेका छन् । उनले आजको बैठकमा सुरक्षा अवस्थाबारे जानकारी लिने र त्यस अनुसारको रणनीति बनाई थप निर्देशन दिने बुझिएको छ ।

मङ्गलबार नेकपाले सुराकीलाई कारवाही गरेपछि गृहमन्त्रालयले सुरक्षा परिषदको बैठक बोलाएर कठोर बन्न निर्देशन गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नै सर्वदलीय बैठक डाकेर राजावादी र प्रतिबन्धित नेकपाको चुनौतीको सामना गर्न एकजुट हुन आग्रह गरेका थिए । उनले ‘हिंसात्मक’ गतिवधि गर्ने शक्ति र दक्षिणपन्थी शक्ति सलबलाउन थालेको भन्दै कसरी अगाडि बढ्नेबारे सुझाव समेत मागेका थिए । यसलाई ओलीको कठोर कदम चाल्दै अगाडि बढ्ने तयारीका रुपमा बुझिएको छ ।