कोरोनाको प्रभावले मिडियालाई असर गर्यो : आचार्य

पत्रकारिता आचारसंहिताबारे अन्तरक्रिया

कोरोनाको प्रभावले मिडियालाई असर गर्यो : आचार्य

सन्धिखर्क, पौष ६ । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र त्यसको असर मिडिया क्षेत्रमा पनि परेको बताउनु भएको छ । अध्यक्ष आचार्यले कोभिडका कारण पत्रकारिता क्षेत्र आर्थिक संकटबाट गुज्रिएको भएपनि धरासायी हुन नदिने बताउनु भयो ।

‘पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सन्धिखर्कमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले कुनैपनि पत्रकार भोकै बस्न नपर्ने बताउनु भयो । पत्रकारहरूको साझा र अभिभावक संस्था भएकाले पत्रकारमाथि आँच आउन नदिने उहाँको भनाई छ । फरक प्रसंगमा कुरा गर्दै उहाँले पार्टीको आन्तरिक विवादले देशलाई बन्धक बनाउन नपाईने धारणा राख्नुभयो । पाँच बर्षलाई जनमत पाएको सरकारले आन्तरिक किचलोका कारण नयाँ जनमतमा गएर जनतामा व्ययभार थप्नु आपत्तीजनक रहेको बताउनु भयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झपेन्द्र भुसालले सबै पत्रकार र सञ्चार माध्यमले आचारसंहिता पालना गर्नुपर्ने भनाई राख्नुभयो । प्रेस काउन्सिलले पनि कोरोनाले प्रभाव पारेको मिडिया क्षेत्रमा सहयोग गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेल, प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, मानव अधिकार तथा शान्ती समाजका अध्यक्ष अशोक पौडेल, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष कुशल भुसाल लागायत पत्रकारहरूको उपस्थिती रहेको थियो ।

महासंघ जिल्ला उपाध्यक्ष गणेश खनालको अध्यक्षता र सहसचिव अनिल नेपालीको संचालनमा कार्यक्रम भएको थियो ।