पुष ७, बुटवल । तत्कालीन एमाले र माकेबीच ‘एकता’ घोषणा गरी बनेको डबल नेकपाबीचको सांगठनिक एकता टुङ्गोमा नपुग्दै फुटमा परिणत भएको छ । प्रतिक्रियावादमा पतन भएको डबल नेकपा ३६ महिना अगाडी एउटै चुनावी घोषणपत्रमा चुनाव लडेपछि एकता भएको थियो । त्यो एकतालाई विभिन्न राजनीतिक दल, बुद्धिजीवी एवं विश्लेषकहरुले एकता नभई माकेको एमालेमा विलय भएको बताएका थिए ।
उनीहरुबीच सुरुदेखि नै विवाद हुँदै आएको थियो । उनीहरुको यो विवाद कुनै सैद्धान्तिक विचार, नीति र उद्देश्यमा नभएर सत्ता र शक्तिको कारण भएको थियो । अर्थात् सत्ता स्वार्थको छिनाझपटीले पार्टी फुटमा पुगेको छ । वलीले संसद विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । यसैको परिणाम स्वरुप मंगलबार दुवै समूहले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेर फुटलाई औपचारिकता दिएका छन् ।
‘एकता’ घोषणा गर्दा निकै तामझाम गरेर नेकपा (नेकपा) बनाएपनि उक्त पार्टीलाई सामान्य बामपन्थी पार्टी समेत भन्न सकिने आधार थिएन र छैन । अहिले दुवै समूहले नाममा कम्युनिस्ट भनेपनि कम्युनिस्ट पार्टी होइनन् । उनीहरुको विवाद विचारमा होइन, व्यक्तिगत छिनाझपटीमा केन्द्रीत छ र थियो । कुनै पनि पार्टी नामले मात्र वामपन्थी, कम्युनिस्ट वा समाजवादी हुन सक्दैन । संसारभरीको इतिहास हेर्ने हो भने कुनै पनि पार्टी वामपन्थी, कम्युनिस्ट वा समाजवादी भनिएपनि काममा ती पार्टीहरु कम्युनिस्ट राजनीतिक दर्शनभन्दा ठीक विपरित भएका उदाहरणहरु प्रशस्त छन् । फासीवादी हिटलरले पनि आफुलाई ‘समाजवादी’ भन्थे तर उनी व्यवहारमा कहिल्यै समाजवादी भएनन् ।
विचार, राजनीति, चिन्तन, प्रवृत्ति, जीवनशैली, कार्यशैली सबै हिसाबले डबल नेकपाका दुवै समूह अर्थात् ओली र प्रचण्ड समूह प्रतिक्रियावादी समूह नै हो । रूप पक्षमा कम्युनिस्ट आवरण भएपनि सारतः कांग्रेस, राप्रपाको चिन्तन र प्रवृत्ति, आचारव्यवहार भन्दा फरक छुट्याउन नसकिने अवस्थामा छ । प्रतिक्रियावादी संसदीय व्यवस्थाको आहालमा चुर्लुम्म डुबेको डबल नेकपाका दुवै समूह बुर्जुवा प्रवृत्ति, स्वभाव र शैलीमा मैमत्त छ । बर्नस्टीन, कार्ल काउत्स्की, निकिता खु्रश्चेभको लाइनमा उभिएको डबल नेकपाका दुवै समूहको अँध्यारो भविष्यबारे विभिन्न आँकलन गरिएको छ ।
डबल नेकपा फुटको कारण आपसी स्वार्थकै टकराव हो । उनीहरूबीचको लडाइँ सत्ता, सुविधा र शक्तिको लडाइँ भएको यसबाट पुष्टि हुन्छ । सिद्धान्तहीन पार्टीका नेताहरूबीच हुने लडाइँ सत्ता, सुविधा र शक्तिकै लागि हो । वली र प्रचण्ड–माधवहरुको फुटले श्रमिक जनतालाई खासै केही प्रभाव पर्ने छैन । किनभने उनीहरूबीच वैचारिकरूपमा कुनै भिन्नता छैन र साम्राज्यवादद्धारा निर्देशित छन् । संसदीय सत्ता र त्यसको नेतृत्व गर्दै आएका राजनीतिक दलप्रति जनताको वितृष्ण उत्कर्षमा पुगेको छ । जनताको करबाट उठेको राज्यको ढुकुटीमाथि ब्रह्मलुट मच्चाउदै आएको सिद्धान्तहीन फुटको भीड अन्त्य गरी नयाँ वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागी एकजुट हुनु उत्तम हुन्छ । डबल नेकपाभित्रको सिद्धान्तहीन एकता र फुटले पैदा गरेको दुर्दशा नै मंगलबार देखिएको गाइजात्रा हो । सिद्धान्तहीन विवाद र फुटका कारण डबल नेकपाबाट जनताले कुनै अपेक्षा गरेका छैनन् ।
प्रतिक्रिया राख्नुहोस्