Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
विभाजित डबल नेकपा : दुवै समूहको नजर 'सूर्य' चिन्हतिर  - Janabato

विभाजित डबल नेकपा : दुवै समूहको नजर 'सूर्य' चिन्हतिर 

पूर्वएमाले पक्षको सूर्य चिह्नसँग भावनात्मक साइनो अत्यन्तै गहिरो छ ।

विभाजित डबल नेकपा : दुवै समूहको नजर 'सूर्य' चिन्हतिर 

बुटवल, पुष ८ । २०४३ को आमचुनावमा तत्कालीन मालेले जनपक्षीय निर्वाचनको नीति लियो । काठमाडौंमा उम्मेदवार भए पद्मरत्न तुलाधर । पञ्चायतकालमा उम्मेदवारपिच्छे चुनाव चिह्न हुन्थ्यो, तुलाधरलाई पार्टीले सूर्य चिह्न थमाइदियो ।

त्यसबखत तत्कालीन मालेको काठमाडौं जिल्ला कमिटी सचिव रहेका नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सूर्य चिह्नलाई मतदाताले पहिलो नजरमै अत्यन्तै रुचाएको सम्झना गर्छन् । 

‘पद्मरत्नजीकै पक्षमा ८६ हजार मत आयो, अरू उम्मेदवारको चुनाव चिह्न भुल्दै गयौं तर सूर्यलाई बिर्सिन सकेनौं,’ पाण्डेले कान्तिपुरसँग भने, ‘काठमाडौंमा हामीले असाध्यै राम्रो मतले पनि जित्यौं र काठमाडौंमा सूर्य चुनाव चिह्न पपुलर पनि भयो ।’ ४० को दशकको सुरुवाती समय कम्युनिस्ट पार्टीहरूका लागि उति अनुकूल थिएन । भूमिगतकालीन राजनीतिमै रहेका कम्युनिस्ट दलहरू १२ टुक्रामा थिए । धेरैको झुकाव कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय पहिचान बोकेको हँसिया–हथौडामा थियो । २०४६ को जनआन्दोलनमा कम्युनिस्टहरू हँसिया–हथौडा अंकित झन्डा नै बोकेर सडकमा ओर्लिए । देशमा बहुदल आयो ।

भूमिगत राजनीतिबाट बाहिरिएपछि बहुल झुन्डमा बाँडिएका कम्युनिस्टहरू एकीकृत हुन थाले । २०४७ को पुसमा तत्कालीन मार्क्सवादी र माले एकीकृत भएर नेकपा एमाले बन्यो । मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी पार्टी महासचिव भए । पार्टी एकताको एक वर्ष पनि नपुग्दै चुनावमा गएको तत्कालीन एमालेले ६९ सिट जितेर प्रमुख प्रतिपक्षीको भूमिकामा आफूलाई उभ्यायो । चुनावमा जाने निर्णय गर्नुअघिको एउटा केन्द्रीय कमिटी बैठकमा पार्टीको चुनाव चिह्नबारे व्यापक बहस भएको थियो ।

२०४३ को चुनावमा तुलाधर विजयी भएको नजिर हेरेर एमालेले आफ्नो पार्टीको चुनाव चिह्न सूर्य नै राख्ने निधो गर्‍यो । ‘त्यतिखेर केही साथीले हँसिया–हथौडा राख्ने कि भनेर कुरा पनि गरेका थिए,’ नेकपा नेता प्रदीप नेपाल भन्छन्, ‘तर सूर्य चिह्न सजिलो हुने र यसको परीक्षण पञ्चायतकालमा पनि भएकाले सूर्य नै लिएर चुनावमा जानुपर्छ भन्ने मत बलियो भयो ।’

 त्यो बेला तत्कालीन एमालेले सूर्यलाई रोज्नुको मुख्य कारण तुलाधरको लोकप्रियतालाई नै मानेको थियो । साथमा नेपालीको आस्था, झन्डा बनाउन सजिलो, ऊर्जाको स्रोत र निरक्षर जनताले पनि ठम्याउन सक्ने विश्लेषणसहित एमालेले सूर्य चिह्न रोजेको थियो । त्यसयताका कुनै पनि चुनावमा सूर्यलाई एमालेले छोडेन । २०५१ को चुनावमा ८८ सिट जितेर सबैभन्दा ठूलो दल बनेको एमालेले अल्पमतको नौमहिने सरकारमा रहँदा लोकप्रिय काम गर्‍यो । वृद्ध भत्ता वितरण र आफ्नो गाउँ आफैं बनाऔं भन्ने एमाले सरकारको त्यो बेलाको नाराले उसलाई गाउँस्तर र साक्षर/निरक्षर जनतासमक्ष चिनाउन मद्दत पुर्‍यायो ।

तत्कालीन एमालेका स्थायी कमिटी सदस्य सीपी मैनाली त्यो सरकारको लोकप्रियताकै कारण कतिपयलाई एमालेको नाम थाहा नभए पनि सूर्य चिह्न थाहा भएको सम्झन्छन् । वृद्धवृद्धाहरू पनि ‘घामको पार्टीलाई भोट दिन्छु’ भन्ने गर्थे, अहिले पनि गाउँतिर तपाईं कुन पार्टीको भन्दा मुसुक्क हाँसेर आकाशतिर देखाउँदै घाम पार्टीको भन्ने वृद्धवृद्धाको संख्या उल्लेख्य छ । चुनावमा यस्ता भोटहरूको अर्थ व्यापक हुन्छ ।

यद्यपि मैनाली २०५४ फागुन २१ गते एमाले फोडेर मालेतिर लागे, उनको पार्टीको चुनाव चिह्न सूर्यबाट तारा भयो । त्यति लोकप्रिय चिह्नलाई तपाईंहरूले दाबी गर्नुभएन ? कान्तिपुरको प्रश्नमा मैनालीले भने, ‘हामी अल्पमतले पार्टी विभाजन गरेका थियौं, जसको बहुमत हुन्छ, उसैले चुनाव चिह्न पाउँछ भन्ने भयो ।’

२०७४ को चुनावमा तत्कालीन माओवादीसँग तालमेल गरेको एमाले पहिलो दल भयो, माओवादी र एमालेका बीचमा एकीकरण पनि । चुनावी तालमेल हुँदा तत्कालीन माओवादीका उम्मेदवारलाई पनि सूर्य चिह्नबाट प्रतिस्पर्धा गराउन दुवै पार्टीका अध्यक्ष सहमत भएका थिए । २०७४ असोज १७ गतेको उक्त निर्णयमा तत्कालीन माओवादीका केही नेताले विमति राखेपछि दाहालले आफ्नो कुरा फेरे । उक्त सहमतिलाई तत्कालीन माओवादी अध्यक्ष दाहालले रातारात उल्ट्याएको आक्षेप नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो दस्ताबेजमा लेखेका छन् । मतपत्रमा चुनाव चिह्न नदेखेपछि करिब १० लाख मत तलमाथि परेको विश्लेषण एकपटक नेकपामा भएको पनि थियो ।

२०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिह्नका रूपमा निर्वाचन आयोगमा दर्ता गर्‍यो तर झन्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनुअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रूपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता ‘कन्भिन्स’ भइसकेका छन् । त्यसैको फलस्वरूप केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालयमा ताला लगाउने होडबाजीमा दुवै पक्ष देखिन्छन् तर त्योभन्दा ठूलो होडबाजी चुनाव चिह्न सूर्य पाउनका निमित्त छ । त्यसको लडाइँचाहिँ ४० औं वर्ष सहकार्य गरेर राजनीतिक जीवनको उत्तरार्द्धतिर पुग्नै लाग्दा टुक्रिन लागेका तत्कालीन एमालेका शीर्ष नेताबीच झन् धेरै देखिन्छ । हुन त पार्टीको नाम, झन्डा र चुनाव चिह्न जसको बहुमत छ, उसैको हुने स्पष्ट कानुन छ । त्यसैले नेताहरू आफ्नो हातबाट चुनाव चिह्न नउम्कियोस् भन्ने चाहन्छन् । त्यसका लागि नेकपाको छिनाझपटी निर्वाचन आयोगसम्मै पुगेको छ ।

पूर्वएमाले पक्षको सूर्य चिह्नसँग भावनात्मक साइनो अत्यन्तै गहिरो छ । पूर्वमाओवादी पक्षले समेत सूर्यलाई आफ्नो चुनाव चिह्न मानिसकेको र तत्कालीन एमालेको एउटा ठूलो पंक्ति साथमै हुने भएकाले सूर्य चिह्नमाथि यो समूहको स्वतः हकदाबी हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षीय नेताहरूको झुकाव पनि सूर्य, एमाले र जनताको बहुदलीय जनवादमा भएकाले सूर्य छापलाई आफ्नो बनाउन यो समूहले सकेको प्रयास गर्नेछ ।

२०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएका तत्कालीन एमालेका दुवै पंक्तिका लागि सूर्य चिह्न प्रतिष्ठाको विषय बन्न सक्छ तर निर्णय गर्ने अधिकार भने निर्वाचन आयोगलाई मात्रै छ । सूर्य चुनाव चिह्नसँगको भावनात्मक साइनो रहिरहने पंक्ति दुईतिर बाँडिएका छन् तर आयोगले सूर्य चिह्न एउटा पक्षलाई मात्रै दिन सक्छ । त्यसबाट सूर्य चिह्न नपाउने एउटा पंक्तिलाई पक्कै पनि विक्षिप्त बनाउनेछ ।

कान्तिपुर, बिनु सुवेदी