माघ ५, सन्धिखर्क । नेकपाका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालगायत नेता कार्यकर्तालाई सरकारले कायरतार्पूण गिरफ्तार गरेको विरुद्ध अखिल (क्रान्तिकारी) अर्घाखाँचीले कोणसभा गरेको छ ।
कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले केपी वलीको नेतृत्वको सामाजिक दलाल फासीवादी सरकारले नेकपाका नेता धर्मेन्द्र बास्तोलालगायत नेता कार्यकर्तालाई गिरफ्तार गरी लोकतन्त्रको असली अनुहार देखाएको बताए । उनले संसद पुनस्थापना वा मध्यावधि चुनाव दुवै श्रमिक जनताको समस्याको समाधान नभएको भन्दै यसको निकास वैज्ञानिक समाजवाद भएको बताए । उनले आफ्नो संगठन संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागी निरन्तर संघर्षमा रहेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत बिषय राज्यले दायित्व लिने बताए ।
कोणसभामा नेकपाका नेता बसन्त र अखिल (क्रान्तिकारी) अर्घाखाँचीका अध्यक्ष नवीन खड्काले नेता बास्तोला लगायत देशभर गिरफ्तार गरिएका नेता कार्यकर्तालाई ससम्मान रिहाइ नगरिए वली सरकारले महंगो मूल्य चुकाउनुपर्ने बताए ।
नेकपाका नेता बास्तोलालाई पुष २९ गते ललितपुरबाट प्रहरीले गिरफ्तार गरेको थियो । बास्तोलालगयात नेता कार्यकर्ताको गिरफ्तार पछि नेकपाका महासचिव विप्लवले वक्तव्य जारी गर्दै नेपाल बन्दसहितको संघर्षको घोषणा गरेका थिए । केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपाले देशभर विरोधसभाहरु गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्