माघ २२, बुटवल । केपी वलीको प्रतिगामी कदमका विरुद्ध देशव्यापी आमहड्तालको आयोजना गरेको प्रचण्ड–नेपालले आमहड्ताल साँझ ५ बजेदेखि सकिएको बताएको छ । उक्त समूहका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बुटवल राजमार्ग चौराहास्थित लखनचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केपी वलीको असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध आमहड्तालको आयोजना गरिएको भन्दै हड्ताल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले वलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन जारी रहनेसम्म बताए ।
रूपन्देहीमा बन्दको आंशिक प्रभाव
रुपन्देहीका मुख्य सहरहरु बुटवल, भैरहवा, देवदह, सैनामैना, धकधई, लुम्बिनीमा बन्दको प्रभाव केही मात्रामा परे पनि ग्रामीण इलाकामा भने बन्दकर्ता नदेखिएको प्रहरीले जनाएको छ । बुटवलमा युवा नेता राजु गुरुङको नेतृत्वमा बन्दकर्ताले टायर बालेर विरोध जनाएका थिए। लुम्बिनी प्रदेशको मुकामसमेत रहेको बुटवलमा जिल्लाको अन्यस्थानमा भन्दा आम हड्तालको प्रभाव केही बढी देखिएको छ। यद्यपि निजी सवारी मोटरसाइकल भने निर्वाधरुपमा चलेका छन्।
भित्री सडकहरुमा इरिक्सा, चारपांग्रे साना गाडीहरु पनि भलिरहेका छन्। भैरहवा क्षेत्रमा पनि निजी सवारी चलेका छन्। बुटवलका चोकहरुमा बन्दकर्ता भए पनि भैरहवामा भने खासै देखिएनन्। भैरहवा प्रचण्ड–माधव समूहका नेताहरु डार्विन रोका, जीवलाल अर्याल, कमला थापा, राम बहादुर बस्नेत, चोपलाल आचार्यलगायत केही समय सडकमा निस्किएर बन्द गराए पनि उनीहरु पनि धेरै समय बसेनन्।
आमहड्तालमा कार्यकर्ताको उत्साह कमी
आम हड्ताल सफल पार्न प्रचण्ड–नेपाल समूहका कार्यकर्ता विहानैदेखि सडकमा निस्किएर सवारी साधन तथा पसलहरु अवरोध गरेका थिए । दिनभर राजमार्ग चौराहस्थित लखनचोकमा भेला भएका नेता कार्यकर्ताको उपस्थिति भने निकै पातलो थियो ।
बन्द सफल पार्न उपस्थित भएका कार्यकर्ताहरुमा खासै उत्साह देखिएको थिएन । डबल नेकपाभित्रको विवाद कुनै सैद्धान्तिक र राजनीतिक नभई सत्तालिप्सा र भागबण्डाको झगडाका कारण वली समूहलाई प्रतिरोध साँध्ने उद्देश्यले बन्दको आव्हान गरिएको भन्दै सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएको थियो ।
कार्यकर्ताको आ–आफ्नै समूह
बुटवलको चौराहामा थोरैको संख्यामा भेला भएका नेता कार्यकर्ताहरु पनि तत्कालीन एमालेका माधव नेपाल समूह र तत्कालीन माके समूहका कार्यकर्ताहरु आ–आफ्नो समूहमा बसेर दिन कटाएका थिए । तत्कालीन एमालेका भन्दा माके समूहका कार्यकर्ताहरुको चहल पहल बढी देखिएको थियो । बन्दकर्ताहरुले आमहड्तालबारे खासै चर्चा गरेनन् । बन्द समापनको बेला केन्द्रीय सदस्य बामदेव क्षेत्रीले ५ देखि ७ मिनेट बोलेर बन्द सकिएको जानकारी दिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्