कोरोना भाइरस विरुद्ध एकढिक्का भएर लडौँ : विप्लव

नेकपाका महासचिव विप्लवद्वारा जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास

कोरोना भाइरस विरुद्ध एकढिक्का भएर लडौँ : विप्लव

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई परास्त गर्नको लागि सबै नागरिकहरू एकधिक्का भएर लड्नुको विकल्प नरहेको बताएका छन् । 

मङ्गलबार कपिलवस्तुको शिवगढीमा जनस्वास्थ्य सेवा केन्द्र भवन शिलान्यास कार्यक्रममा महासचिव विप्लवले भने, ‘अहिले पार्टीभन्दा माथि उठेर सबै एकजुट भएर कोरोना भाइरसलाई परास्त गर्नुपर्छ, जनताको सेवा गर्नुपर्छ । हाम्रो यो साझा प्राकृतिक समस्या हो, समाधान पनि सबै एक भएर साझा रुपमा गर्नुपर्दछ ।’ महासचिव विप्लवले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि कोरोना सङ्क्रमितहरूको उपचारका लागि यस केन्द्रबाट सहज रूपमा विभिन्न सेवाहरू प्रदान गरिने बताए । उनले उक्त जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । जनस्वास्थ्य सेवा केन्द्रबाट दीर्घकालीन रूपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्धसहित अगाडि बढाउने र सबैले मिलेर यसलाई समयअनुसार बिस्तारै सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गरिनुपर्नेमा उनले जोड दिएका छन् । कोरोना महामारीलाई परास्त गर्नु मानवीय कर्तव्य भएको बताउँदै महासचिव विप्लवले सबै नागरिकको स्वास्थ्यलाई ध्यान दिनु अहिलेको आवश्यकता भएकाले कठिन समयमा सबैलाई आआफ्नो ठाउँबाट भूमिका र जिम्मेवारी निर्वाह गर्न अनुरोध गरे ।

कपिलवस्तुको शिवराज नगरपालिका ९ बानियाँभारमा निर्माण हुने केन्द्रको एक महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ। उक्त भवन शिवगढीका बासिन्दाको सक्रियता र नेपाल कम्युनिस्ट पार्टीको आफ्नै लगानीमा निर्माण हुनेछ । 

कार्यक्रममा नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य थियो भने केन्द्रीय सदस्य चन्दबहादुर चन्द ‘वीरजङ्ग’ विशिष्ट अतिथि थिए । अन्य अतिथिहरूमा केन्दीय सदस्यहरू सञ्जीव, असल, जुझारु, नेकपा कपिलवस्तु सचिव शेरमान, शिवराज ९ वडा अध्यक्ष चुरबहादुर खड्का, सहिद प्रतिष्ठानका अध्यक्ष भेकबहादुर थापा, शिवगढी सेक्रेटरी पावेल उपस्थित थिए । दिलमाया थापाले कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।