'सुकुम्बासी बस्तीमा डोजर लगाउनु गलत' : नेकपा

किरियापुत्री बसेका सुकुम्बासीको घरसमेत डोजर लगाएर भत्काइयो

'सुकुम्बासी बस्तीमा डोजर लगाउनु गलत' : नेकपा

उदयपुर । नेकपा उदयपुरले कोरोना महामारीबाट थलिएका र बुबाको किरियापुत्री बसेका उदयपुर कटारी नगरपालिका वडा नं. ४ बस्ने सुकुम्बासी दिनेश दनुवार, सन्तबहादुर सुनुवारलगायत सुकुम्बासीका घर छाप्रा कटारी नगरपालिकाले डोजर लगाएर भत्काइदिएको भन्दै यो अमानवीय, अनैतिक र आपराधिक कार्य रहेको बताएको छ ।

जिल्ला इन्चार्ज विवेक कुमाल र सेक्रेटरी लक्ष्मण पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आफ्नो पार्टीले घोर भत्सर्नाका साथै निन्दा गरेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पीडित सुकुम्बासीहरूलाई क्षतिपूर्तिसहित उचित व्यवस्थाका लागि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गर्दछ । यो घटना नेपालको असफल संसदीय व्यवस्थाको उपज हो । नेपालमा दलाल संसदीय व्यवस्था रहुन्जेलसम्म नेपालका सुकुम्बासी, भूमिहिन, किसान श्रमजीवी वर्गको समस्या दोहोरिरहने भएकाले नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी श्रमजीवी वर्गको वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि सम्पूर्ण भूमिहिन, किसान, श्रमजीवी वर्गलाई एकताबद्ध भई सङ्घर्ष गर्न आह्वान गर्दछौँ ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘महामारीले आक्रान्त भएका भूमिहिन सुकुम्बासीको घरमा कथित स्थानीय सरकारले उदयपुर कटारी नगरपालिका वडा नं. ४ बस्ने सन्तबहादुर सुनुवार, बुबाको किरियापुत्री बसेका स्थानीय सुकुम्बासी दिनेश दुनुवारलगायतको घर मिति २०७८ जेठ ५ गते कटारी नगरपालिकाले घोजर लगाएको छ । यो घटना स्थानीय निकायको अमानवीय, अनैतिक र आपराधिक कार्य रहेको हाम्रो पार्टीको ठहर रहेको छ ।’