नेकपाद्वारा सहिद सनराइजको स्मृतिमा राहत वितरण

सहिद परिवारलाई सम्मान

नेकपाद्वारा सहिद सनराइजको स्मृतिमा राहत वितरण

अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामले एकीकृत जनक्रान्तिका महान सहिद कमरेड सनराइजको ५ औँ स्मृति सभामा दसवर्षे जनयुद्धका सहिद, राजबन्दी र विपन्न परिवारलाई राहत वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको धमालीमा सम्पन्न भएको उक्त कार्यक्रममा राहत स्वरूप १ बोरा चामल, १ केजी तेल प्रति व्यक्ति, मास्कलगायतका सामग्री हस्तान्तरणसँगै कोरोना भाइरसको महामारीबाट बच्नका लागि जनचेतामूलक संदेशहरू पनि प्रस्तुत गरिएको थियो । 

कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व डिसिएस निरक बहादुर शाही ’प्रतीक’ले सहिदका सपना मर्न नदिने र पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्यसका लागि वर्तमान दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल सिद्ध भएको अवस्थामा सम्पूर्ण देशभक्त, प्रगतिशिल जनताहरू जनमत संग्रह मार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् अभियानमा एकजुट भएर अघि बढ्नुपर्ने बताए । 

युवा सङ्गठन अछामका सचिवालय सदस्य गोकर्ण बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नमराज धमाला, अध्यक्ष डिसिएम तिलक बहादुर बिष्ट ’विकास’, दलित मुक्ति मोर्चा नेपाल अछामका जिल्ला अध्यक्ष दिल बहादुर विक, अखिल (क्रान्तिकारी) अछामका कोषाध्यक्ष कमला बिष्ट लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन युवा संगठन अछामका जिल्ला सदस्य सुरत बहादुर बिष्टले गरेका थिए ।