हेमन्त प्रकाश वली, दाङ । जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल, केन्द्रिय समिति दाङले घोराहीमा संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शुक्रवार भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समितिका सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ले अहिले आफुहरुले नेतृत्व गरेको क्रान्तिमा धोका भए फाँसी चढ्न तयार भएको उद्घोष गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता विषमले प्रचण्ड बाबुरामले क्रान्तिलाई बेचेर खाएको भन्दै आफुहरु इमानदारीताका साथ क्रान्तिमा अघि बढेको बताए । नेपाली क्रान्तिको नयाँ मोडेल प्रक्षेपण गरेको बताउँदै उहाँले नेपाली जनताले शासन सत्ता फेरिएको महसुस गर्न नपाएको उद्घोष गरे । उनले सहिद तथा बेपत्ता परिवारको समस्या राज्यसत्ताबाटै हल हुने प्रयास गर्ने यदि समस्याको हल नभए राज्यसत्ता परिवर्तन गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको वार्ता आत्मसमर्पण वा केपीसँग मिल्न गएको होइन, हामी थाकेका पनि छैनौँ र गलेका पनि छैनौ ।’
विषमले अहिले सत्तामा देखिएको संकट केपी–प्रचण्डको असफलता नभएर विश्वमा असफलसिद्ध संसदीय व्यवस्थाको असफलता भएको जिकिरसमेत गरे । यही सत्तामा अनेकौ अवसरहरु आएको तर आफुहरु पद, प्रतिष्ठा र पैसाका लागि बिक्री नभएको र अब एकपटक इमानदारीताका साथ एकीकृत जनक्रान्त सम्पन्न गरि वैज्ञानिक समाजवादको सुनौलो बिहानी ल्याएरै छोड्ने उद्घोष गरे ।
कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका केन्द्रिय अध्यक्ष साबित्रा दुरा ‘आस्था’ले सहिद परिवार बेपत्ता योद्धाहरुप्रति राज्य जिम्मेवार नभएको बताए । उनले सहिद परिवार बेपत्ता परिवारप्रति राज्य जिम्मेवार नभए नेपालमा अर्को आन्दोलनको आधिबेहरी सृजना गर्ने उद्घोष गरे ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’ले महान जनयुद्धको इतिहासलाई मर्न नदिने बताए । उनले भने, ‘जे जति उपलब्धि भए त्यसको रक्षा गर्दै बाँकी क्रान्तिका कार्यभार पूरा गर्ने महान अभियानमा छौँ ।’
बेपत्ता योद्धा परिवार समाज नेपालका केन्द्रिय अध्यक्ष राम बहादुर थापा ‘सुन्दर’को अध्यक्षतामा भएको कार्यक्रममा जनक्रान्तिका सहिद परिवार संगठन नेपालका पूर्व केन्द्रीय सदस्य असिना, सहिद परिवार संगठन नेपाल विशेष कमिटी सदस्य सुन्दर वली, नेपाली कांग्रेस जिल्ला पार्टी सचिवालय सदस्य टेक बहादुर वली, नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश सचिवालय सदस्य नुमाकान्त न्यौपाने, राप्रपा केन्द्रिय कार्यसम्पादन सदस्य मिना स्वर्णकार, नेकपा मालेका जिल्ला सचिव नेत्र पाण्डे, नागरिक समाज दाङका अध्यक्ष केबी मसाल, नेपाल पत्रकार महासंघ दाङ सचिव भुपेन्द्र वली, जनजागरण नेपालका केन्द्रिय सदस्य मंगल चौधरी, युगबोध पत्रकिाका सदस्य गोबिन्द खड्का, जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वली, बार एशोसियसनका प्रतिनिधि तथा अधिवक्ता ओम भक्त डांगी, मानवअधिकार सञ्जालका संयोजक केशव शर्मा, नेकपा (क्रान्तिकारी माओवादी) दाङ जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य समीर केसी, महान जनयुद्धका घाइते योद्धा असलले आफ्नो मन्तव्य राखेका थिए ।
रैबहादुर बस्नेत ‘धर्ती’को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनक्रान्तिका सहिद परिवार संगठन नेपालका केन्द्रिय अध्यक्ष खुमा सुवेदीले गरेका थिए । कार्यक्रममा धर्तीको संयोजकत्वमा ९ सदस्यीय जनक्रान्तिका सहिद परिवार संगठन नेपाल राप्ती ब्युरो समिति गठन गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्