नेपाल पत्रकार महासंघ रूपन्देहीद्धारा विभिन्न निर्णय 

बैशाख ११ गते अन्तरक्रिया कार्यक्रम गर्ने

नेपाल पत्रकार महासंघ रूपन्देहीद्धारा विभिन्न निर्णय 

बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीको एघारौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको प्रथम बैठकले विभिन्न निर्णय गरेको छ । 

महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता तथा निवर्तमान अध्यक्ष यानेन्द्र जिसिको उपस्थितीमा बसेको बैठकले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्ने निवर्तमान कार्यसमिति, निर्वाचन समिति, पत्रकार सम्बद्धसंघ सगंठन, सुरक्षाकर्मी एंव विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । सचिव विनोद परियारले एक प्रेस विज्ञिप्त जारी गरि बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । 

महासंघको नवनिर्वाचित कार्यसमितिले आगामि कार्ययोजना निर्माणका लागि महासंघका पूर्वअध्यक्ष, पूर्व पदाधिकारी, प्रेस स्वतन्त्रता सेनानी, अग्रज पत्रकार तथा पत्रकार सम्बद्ध संगठनका अध्यक्षहरुसँग सुझाव संकलन गर्ने गरि बैशाख ११ गते अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । 

यसैगरि २०७८ सालको क्यालेण्डर तथा डाइरेक्ट्री प्रकाशन गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकार कुलमणी ज्ञवालीकी ममतामयी माता ८१ बर्षिय खगेश्वरी ज्ञवालीको आईतबार निधन भएकोमा  दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना तथा मृतक स्व. माताप्रती श्रद्धान्जली अर्पण गर्ने निर्णय गरेको छ ।  यसैगरि प्रथम बैठकले संस्थागत कामका लागि सचिवालय गठन तथा अन्य प्रशासनिक निर्णय समेत गरेको छ ।