नेकपा(नेकपा) विघटनको संघारमा

पुष ५, बुटवल । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो भुसको आगो हुँदै डढेलो बनेपछि अन्ततः संसद विघटनको विन्दुसम्म पुगेको छ । 

तत्कालित नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक आपसमा एकता गर्ने सहमति भई तर एकता अघि नै भएको निर्वाचनमा पाएको झण्डै दुई तिहाई मतसहितको राजनीति स्थिरता फेरि अस्थिरतामा बद्लिन पुगेको छ । 

यसलाई नपालको प्रजातान्त्रिक राजनीतिक इतिहासमा २०४८ सालमा नेपाली कांग्रसेले पाएको बहुमत सरकारले २०५१ मा संसद विघटन गरेको घटना फेरि दोहोरिएको भन्न सकिने अवस्था निम्तिएको थियो  ।

त्यसबेला पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो दलको बहुमतको सरकारलाई निरन्तरता नदिई संसद विघटन गरि मध्यावधी निर्वाचन घोषणा गरेका थिए । 

अहिले प्रधानमन्त्री केपी ओलीले नेकपाको झण्डै दुई तिहाईको राजनीतिक मजबुदीलाई पुनः तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झै संसद विघटन गर्ने निर्णयमा पुगेका छन् । 

यो सँगै देशमा फेरि तिब्र राजनीतिक अस्थिरता चुलिने स्पष्ट देखिएको छ । 

नेकपा भित्रको अर्काे खेला पुष्पकमल दाहाल–माधवकुमार नेपाल खेमासँगको तिब्र टकराबले स्थिरतालाई दिइएको जनताको अभिमत निरर्थक बन्ने भएको छ । 

प्रचण्ड–नेपाल पक्षसँग हिजो शनिबार घनिभुत छलफलमा जुटेका प्रधानमन्त्री त्यसको भोलीपल्ट अर्थात आज आइतबार यस्तो निर्णयमा पुगेको देखिन्छ । 

पार्टीको सचिवालयमा दुवै अध्यक्षको संयुक्त प्रस्ताव लैजानका लागि अर्का अध्यक्ष दाहालले राखेको प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री ओलीले आग्रह गर्ने र दाहालले अस्वीकार गर्ने विषय सतहमा देखिए पनि उनीहरु बीच सँगै अघि बढ्न नसक्ने गरि मतान्तर चुलिन पुगेपछि देशको राजनीति परिदृय यस घडिमा पुगेको हो ।