दाङ : नेकपा निकट युवा, विद्यार्थी र जनपत्रकार संगठनले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संयुक्त रक्तदान गरेका छन् ।
पार्टी निकट युवा संगठन नेपाल दाङ, अखिल (क्रान्तिकारी) दाङ र जनपत्रकार संगठन नेपाल दाङद्वारा प्रज्वल लगायत एकिकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल वलीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी शितलले राज्य निकास, निष्कर्षबिनाको संसदीय चक्रमा घुमिरहेको बताए । उनले यतिबेला राज्यको ध्यान नागरिकको जीवनरक्षामा हुनुपर्नेमा राज्य अर्को लफडा संसद विघटन, पुनस्थापना, मध्यावधि चुनावजस्ता निकासविहिन चक्रमा घुमिरहेको बताए । जिल्ला इन्चार्ज शितलले कोभिडका विरुद्ध अग्रमोर्चामा लड्ने डाक्टर, नर्स, सम्पुर्ण चिकित्सक, सुरक्षा निकायलाई धन्यवाद दिए ।
कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप वली, युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलक योगी, युवा संगठन नेपाल केन्द्रिय सदस्य विरेन्द्र विक, नेपाल रेडक्रस सोसाइटी दाङ शाखा मन्त्री प्रकाश श्रीबन्द, ब्लड बैंक इन्चार्ज दिलिप न्यौपानेको आतिथ्य रहेको थियो ।
रक्तदान कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकलगायत ४५ जनाले रक्तदान गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्