हेलम्बु । सभामुख अग्निप्रसाद सापकोटादेखि सरकारका मन्त्रीसम्मको लस्कर छ मेलम्ची बजारमा । तर, सबैभन्दा बढी मानवीय क्षति भएको हेलम्बु गाउँपालिकामा चाहिं कमैको नजर परेको छ ।
अघिल्लो मंगलबार राति आएको बाढीले एक जनाको मृत्यु र १५ जना बेपत्ता बनाएको हेलम्बु गाउँपालिकामा अहिलेसम्म प्रशासनको पाइला परेको छैन । हेलम्बु–२, ज्यामिरेका डम्बरबहादुर भण्डारी भन्छन्, ‘हाम्रो लागि राज्य पनि मरिसक्यो ।’
नेपाली सेना र केही निजी कम्पनीका हेलिकप्टर हेलम्बुको आकाशमा उडिरहन्छन् । तर, तिनमा आउने राहतले स्थानीयलाई गिज्याए झैं लाग्छ ।
हेलम्बुका हस्त पण्डित सुनाउँछन्, ‘आइतबार १० वटा फर्म, १९ बक्सा चाउचाउ र केही स्वास्थ्य सामग्री झारेर एक निजी कम्पनीको हेलिकप्टर फर्कियो ।’ उनी प्रश्न गर्छन्, ‘सहयोग गरिएको सामग्रीको दाम कति ? हेलिकप्टरको भाडा कति ?’
ज्यामिरेका भण्डारी आफूहरुको पीडाले सञ्चारमाध्यममा पनि स्थान नपाएको गुनासो गर्छन् । ‘सहयोग मात्रै होइन, मिडिया पनि मेलम्चीमा मात्रै केन्द्रित भयो,’ उनले भने, ‘कि हामी यो देशको नागरिक होइनौं भन्नुप¥यो, नभए राज्यले हाम्रो व्यवस्थापन गरिदिनुप¥यो ।’
प्रहरी र सेनाले पनि आफूहरुलाई सहयोग गर्न नसकेको उनले बताए । हेलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्व हुने गरी ‘क’ वर्गको इलाका प्रहरी कार्यालय छ । तर, अहिले प्रहरी सहायक निरीक्षक (असई)ले कमाण्ड गरिरहेका छन् ।
‘प्रहरीले पानी बढेको छ/छैन टर्च बालेर हेर्ने बाहेक केही काम गरेको छैन,’ भण्डारी थप्छन्, ‘बेलुका देखेको घर बिहान उठ्दा हुँदैन, घरको सामान निकाल्न सहयोग गरिदिने कोही छैन ।’ माथि हेलिकप्टरको आवाज सुन्दै तल सुरक्षित ठाउँमा सुत्नुको विकल्प नभएको उनले गुनासो गरे ।
त्यसो त हेलम्बुमा रहेको प्रहरीको कार्यालय पनि ढलेको छ भने प्रहरी अधिकारी आफैं असुरक्षित छन् ।
गौरव पोखरेल
प्रतिक्रिया राख्नुहोस्