बुटवल । तिलाेत्तमा नगरपालिकामा व्यक्तिले तीन पुस्तादेखि जोतभोग र संरक्षण गर्दै आएको जग्गामा स्वास्थ्य केन्द्र बनाउन थालेपछि मगर संघले बिराेध जनाएको छ ।साे जग्गामा स्वास्थ्य केन्द्र नबनाउन मगर संघले माग गरेको हाे ।
तिलोत्तमा-१ मगरटोलका बिकाराम सारु मगरको परिवार २०१६ सालदेखि बसोबास र खेतीपाती गर्दै आएको ११ कठ्ठा ७ धुर जग्गामा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाउन खोजेपछि सारु परिवार र नेपाल मगर संघले निर्माण कार्य तत्काल रोक्न माग गर्दै अवरोध गरेको छ । मगर संघले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अन्यायका बिरुद्ध लड्ने बताएको छ ।
सारु परिवारले नगरपालिका र जिल्ला प्रशासनमा निवेदन दिई जग्गाको छानबिन गरी जोतभोगका आधारमा न्याय दिन माग गरेपनि सुनुवाइ नभएपछि मगर संघलाई गुहारेको हो ।मगर संघले उक्त जग्गामा मगर संघको झण्डा गाड्नुका साथै स्वास्थ्य केन्द्र अन्यत्र बनाउन माग गरेको छ । २०१६ सालदेखि जोतभोग गरेर बसेको जग्गामा नगरपालिकाले जबरजस्ती स्वास्थ्यकेन्द्र बनाउन खोज्नु अन्याय भएको मगर संघ तिलोत्तमाकी अध्यक्ष लिलमाया रानाको भनाइ छ ।
नगरपालिकाले छलफल र संवादबाट विवाद समाधान नगरी जबरजस्ती स्वास्थ्य केन्द्रको भवन बनाउन खोजे आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने संघर्ष समितिकी संयोजक राधिका श्रीस पुनले बताइन् । विकारामकी श्रीमती विष्णु सारुले बाजे ससुराको पालादेखि जोतभोग गरेको जग्गामा आफूहरु वाहेक अरुको हक नलाग्ने भन्दै न्याय दिन माग गरिन् ।
उक्त जग्गामा स्वास्थ्य केन्द्र बनाउन गत वर्ष शिलान्याश गरिएको थियो तर विरोध पछि काम शुरु भएको थिएन । यस पटक भवन बनाउन ईंटा झारेपछि मगर संघले विरोध गर्दै विवादित जग्गामा झण्डा गाडेको छ । नेपाल मगर संघ तिलोत्तमाका सचिव प्रेम कनौजेले वडा अध्यक्ष तामनाथ पाण्डेले गैरजिम्मेवार र हेपाहा प्रवृत्ति देखाएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।
वडाध्यक्ष पाण्डेले भने उक्त जग्गा मन्दिरको सार्वजनिक भएकाले वडाबाट निर्णय गरेर स्वास्थ्य केन्द्र बनाउन खोजिएको बताए ।
प्रतिक्रिया राख्नुहोस्