पाल्पामा पहिरोले ५ घर पुरिदा १ जनाको मृत्यु, १ बेपत्ता

बुटवल–पाल्पा सडकखण्ड समेत बन्द

   पाल्पामा पहिरोले ५ घर पुरिदा १ जनाको मृत्यु, १ बेपत्ता

बुटवल । पाल्पाको तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै गएको पहिरोले ५ घर पुरिदा १ जनाको ज्यान गएको छ । एक बालक बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् ।

कल्याणी आधारभुत विद्यालय नजिकै रहेको गिट्टिखानीनिर भएको घटनामा अन्दाजी ४५ बर्षिय वीरबहादुर गुरुङ्गको घटना स्थलमै ज्यान गएको हो । पहिरोले ८ वर्षिय बालक आरब परियार बेपत्ता छन् ।

बिहान साढे ३ बजे तिर आएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए।

पहिरोले घाईते भएकाहरुलाई कल्याणी आधारभुत बिद्यालयमा राखेर उपचार भैरहेको र विस्थापितहरुलाई पनि सोही विद्यालयमा राखिएको स्थानीयले जनाएका छन् ।

हिजो रातीदेखि निरन्तर रुपमा परेको पानीले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ । घाईते मध्य ७५ वर्षिय सुन्दरी गुरुङ अवस्था गम्भीर रहेको र अन्य ६ घाइते सामान्य रहेको प्रहरीले जनाएको छ ।