मंसिर ९, बुटवल । नेकपा पाल्पाका इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आलेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । इन्चार्ज सिंहको मिना महतले उच्च अदालत बुटवलमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट आज अदालतले खारेज गरिदिएको छ ।
जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाइ बिपक्षी बनाएर दर्ता गरिएको रिट अदालतले खारेज गरिदिएको हो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उनीहरुको गिरफ्तारीमा आफ्नो कार्यलयको कुनै आदेश र संलग्नता नभएको लिखित जवाफ सहित रिट खारेज गरि पाउँ भन्न ब्यहोराको जवाफ पठाएपछि अदालतले रिट खारेज गरेको जनाएको छ ।
नेताद्धय सिंह र आलेलाई मंसिर ४ गते बिहान रुपन्देहीबाट प्रहरीले गिरफ्तार गरेको थियो । दुबै जनालाइ बिस्फोटक सम्बन्धी मुद्दा लगाएर अदालत मार्फत् म्याद थपिएको थियो ।
सिंह र आलेको गिरफ्तारी विरुद्ध नेकपा लुम्बिनी ब्युरो इन्चार्ज भीमले रिहाइका पहल गरिदिन बुद्धिजीवी, मानवअधिकारवादी र सरोकारवाला सबैलाई अपिल गरेका थिए । उनले विज्ञप्तीमार्फत् सामाजिक दलाल पुँजीवादी सरकारका विरुद्ध संझौताहीन संघर्ष गर्ने बताएका थिए ।
नेताद्धय बुटवलमा पार्टी पुनर्गठन दिवस सम्पन्न गर्न पार्टीको कामको सिलसिलामा प्रहरीले पक्राउ गरेको थियो । नेताद्धयको गिरफ्तारपछि पनि नेकपाले पाल्पामा जिल्लाभर पोस्टर, ब्यानर, जनप्रदर्शन गरेर पार्टी पुनगर्ठन दिवस भव्य रुपमा मनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्