बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले महँगी र कालोबजारी विरुद्ध बुटवलमा विरोध प्रदर्शन गरेको छ । सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार क्रान्तिकारीले मङ्गलबार उक्त प्रदर्शन गरेको हो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले वर्तमान दलाल राज्यसत्ताका कारण महँगी र कालोबजारीले जनताको दैनिकी जीवन निकै दर्दनाक भएको बताए । उनले पेट्रोलियम पदार्थ लगायत सबै वस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरे । जनताको प्रत्यक्ष दैनिकी जीवनस्तरसँग जोडिएको सबै उपभोग्य वस्तुहरूमा भईरहेको मूल्यवृद्धि तत्काल खारेज नगरिए दलाल राज्यसत्ता विरुद्ध सङ्गठनले देशव्यापी कडा सङ्घर्ष र आन्दोलन गर्ने चेतावनी दिए ।
संयोजक विकले वर्तमान नेपाली राजनीतिमा देखिएको सङ्कटको निकास निर्विकल्प वैज्ञानिक समाजवाद भएको बताए । उनले पार्टीले अगाडी सारेको व्यवस्था बदल्ने चुनाव जनमत सङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापनाका लागि साथ दिन सम्पूर्ण नेपाली जनसमुदायलाई अपिल समेत गरे ।
कार्यक्रममा नेकपाका नेता–कार्यकर्ता, विद्यार्थी, सञ्चारकर्मी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सङ्गठनका रुपन्देही जिल्ला इन्चार्ज रुपा बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्