नेकपा हेटौंडा नगर समितिको तेस्रो पूर्ण बैठक 

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिका समिति मकवानपुरको तेश्रो पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । नेकपा मकवानपुरको १७ औं पूर्ण बैठकले तोकेको मिति अनुसार आइतबार हेटौंडा उपमहानगरपालिका समितिको बैठक हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्यम्पसमा बसेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा हेटौंडा उपमहानगरपालिकाका सह–सेक्रेटरी विवेकले पार्टीको परिपत्र वाचन गरेका थिए । रिपोर्टिङको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै विशेष अतिथि वाटरले अब प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह हुँदै वैज्ञानिक समाजवादसम्म पुग्न जनता र पार्टीबीचको सम्बन्धलाई मजबुद बनाउँदै सम्पूर्ण नगर समिति सदस्यहरू सम्बन्धित कार्यक्षेत्रमा प्रत्यक्ष उपस्थित भई जनतासँग जोडिएर काम गर्नुपर्ने बताए । त्यस्तै हिजो नेकपालाई सरकारले दमन गर्दै गर्दा, प्रतिबन्ध लगाउँदै गर्दा, पार्टी कार्यकर्ताको खेदो गर्दै गर्दा जनताले हर तरहले साथ दिएको, मन पराएको कारण तीन बुँदे सहमतिको माध्यम हुँदै यहाँसम्म आइपुगेको कुरा प्रमुख अतिथि नयनले बताए । अब शान्तिपूर्ण ढङ्गले खुल्ला राजनीतिक मैदानमा सबैसँग वार्ता, बहस र छलफल गरी प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रहको बाटो हुँदै यो असफल सिद्ध भएको संसदीय व्यवस्थाको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवादसम्म पुग्नका लागि सबै पार्टी नेता–कार्यकर्ता क्रियाशील भई कार्यक्षेत्रमा लाग्नुपर्ने पनि उनले बताए ।

बैठकले ३३ सदस्यीय नगर समिति र १० सदस्यीय सचिवालय गठन गरेको छ । त्यस्तै बैठकले हेटौंडा नगरभित्रका विभिन्न १९ वटा वडा समितिको बैठक मिति पनि तोकिदिएको बताइएको छ । यसरी हेटौंडा उपमहनगरपालिकाका सेक्रेटरी सुर्य अर्यालको सभाध्यक्षतामा बसेको बैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ साँझ समापन भएको थियो ।