बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेपछि आन्तरिक संकट झन् चुलिएको छ । पार्टीले तटस्थसमेत नबस्न ह्वीप जारी गरे पनि ११ सांसद अनुपस्थित भए पनि २२ जनाले देउवाको पक्षमा मतदान गरे ।
देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका १४ र ओली समूहका ८ जना छन् । अन्य ११ जना संसद् भवनमा उपस्थित भए पनि मतदानका बेला बैठक छाडेर हिँडेका थिए । ओली समूहबाट देउवालाई मत दिनेमा प्रेम आले, धनबहादुर बुढा, कृष्णकुमार (किसन) श्रेष्ठ, गोपाल बम, पार्वती विशंखे, हिराचन्द्र केसी, बिना बुढाथोकी र समिना हुसेन छन् । आले यसअघि ओली सरकारमा वनमन्त्री र बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए ।
त्यस्तै सांसद श्रेष्ठले ओलीको विश्वासपात्रका रूपमा काम गर्दै आएका थिए । श्रेष्ठ गत वर्ष समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याउनेमध्येका एक हुन् । प्रधानमन्त्री हुनेबित्तिकै देउवालाई बधाई दिन आले बूढानीलकण्ठसमेत पुगेका थिए । व्यापारिक पृष्ठभूमिका भएकाले आफ्नो स्वार्थका लागि उनीहरू देउवाको पक्षमा लागेको हुन सक्ने ओली पक्षका नेताहरूको आकलन छ ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विषयले विपक्षी दल एमालेको एकता बचाइराख्ने प्रयासमा गम्भीर संकट आएको नेताहरूले बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को निर्णयसँगै विभिन्न राजनीतिक मुद्दामा विभाजित एमालेको एकता झन् कठिन मोडमा पुगेको छ ।
देउवालाई विश्वासको मत दिने नेपाल समूहको कदमले पार्टी एकतालाई संकटमा पारेको ओली समूहको बुझाइ छ । नेपाल समूहले ओलीले विघटन गरेको प्रतिनिधिसभा आफूहरूकै राजनीतिक एवं कानुनी संघर्षको बलमा पुनःस्थापित भएकाले यसको पूर्णकाल सुरक्षित गर्ने दायित्व पनि आफूहरूकै भएको तर्क गरेको छ । विश्वासको मत दिने विषयले नेपाल समूहमै विभाजन आएको छ । ओली समूहमा पनि विद्रोह भएको छ । निरन्तर प्रयासका बाबजुद पनि आइतबार नेपाल पक्षका ११ सांसद मतदानमा अनुपस्थित भए भने ओली समूहका ८ सांसदले देउवाको पक्षमा मतदान गरे ।
एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले देउवाको पक्षमा मतदान गर्नेहरू पार्टीमा रहन नसक्ने निष्कर्ष निकालेको थियो । ‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर, आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरू पार्टीभित्र रहनुहुन्न,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ थियो । मतदानपछि नेता नेपालले भनेका छन्, ‘निरंकुश प्रवृत्तिको पराजय भएको छ । संविधान र जनताको जित भएको छ ।’
मतदानपछि नेताहरूको आरोप–प्रत्यारोप सुरु भएको छ । एमाले महासचिव ईश्वर पोखरेलको प्रतिक्रिया छ, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषकबारे भ्रममा नपरौं, सबैले राम्ररी चिनौं ।’
मतदानमा अनुपस्थित भएका नेपाल पक्षका नेता गोकर्ण विष्टले आइतबारको घटनाले एमालेको एकता जटिल बनाएको बताए । ‘एमाले एकताको प्रक्रियालाई जटिल बनाएको छ, तैपनि राजनीतिमा असम्भव भन्ने हुँदैन भनेजस्तै यसले नयाँ ढंगले एकताको पहल गर्ने अवस्था पनि पैदा हुन सक्छ,’ उनले भने, ‘त्यसका लागि हामी निरन्तर प्रयास गर्छौं ।’ तर, ओली पक्षका एक नेता भन्छन्, ‘अब एकीकृत एमाले सम्भव छैन । पार्टी फुटाउनकै लागि माधव कमरेडले यतिविधि गर्नॅभयो । अब सदन स्थगित गरेर दल विभाजन खुकुलो बनाउने अध्यादेश ल्याउने भन्ने सुनिएको छ । त्यसो हुँदा उहाँलाई पार्टी फुटाउन सहज हुने भयो ।’
ओली पक्षका सांसद खगराज अधिकारीले पनि देउवालाई मत दिने निर्णयले जनतामाथि धोका भएको बताए । ‘जनताले सूर्य चिह्नमा मतदान गरेर पठाए, उहाँ (नेपाल) तिनै जनताबाट बदनाम हुनुभयो,’ अधिकारीले भने । अर्का नेता घनश्याम भुसालले संसद् बचाएको र अब पार्टी बचाउने दाबी गरेका छन् । उनी मतदानमा भने सहभागी भएका थिएनन् । ‘संसद् जोगाउनुपर्थ्यो, जोगिएको छ, अब पार्टी जोगाउनुपर्नेछ, जोगाइनेछ,’ उनले भनेका छन्, ‘हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धूलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।’
भारतको अपोलो अस्पतालमा उपचारत वरिष्ठ नेता झलनाथ खनालले आइतबार विज्ञप्ति जारी गरेर देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनले संसद् जोगाउँदै पार्टी एकतालाई पनि अगाडि बढाउन आग्रह गरेका थिए । विश्वासको मत दिने निर्णयसम्म आउँदा आइतबारै नेपाल पक्षका नेता एवं एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरे । देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्दा रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । उच्च राजनीतिक तहमा अनैतिक गतिविधि देखिएकाले आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने भन्दै उनले राजीनामाको घोषणा गरेका छन् ।
ओलीलाई शनिबार भेटेका विघटित कार्यदलका सदस्यहरूले आइतबार नेपाललाई भेटेर दसबुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । नेपालसँगको छलफलमै रहेका बेला प्रधानमन्त्री देउवाले विश्वासको मत लिने सूचना सार्वजनिक भएपछि कार्यदल सदस्यहरूले विश्वासको मत नदिन गरेको आग्रह नेपालले अस्वीकार गरेको ज्ञवालीले बताए । ‘माधव कमरेडले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नॅभयो, त्यसको तात्पर्य उहाँले एमालेलाई एकताबद्ध बनाएर लैजाने कुरामा इच्छुक देखिनुभएन, उहाँ बेग्लै कोर्समा हिँड्न चाहनुभएको प्रस्ट देखियो,’ ज्ञवालीले भनेका थिए ।
प्रतिक्रिया राख्नुहोस्