मंसिर ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज भीमले सञ्चार जगत सत्ताको दलालहरू उत्पादन गर्ने कारखाना हुन नहुने बताएका छन् ।
नेपाली न्युजपोर्टल जनवाटो डटकमको औपचारिक शुभारम्भको अवसरमा पार्टीको तर्फबाट शुभकामना सन्देश पठाउदै इन्चार्ज भीमले सञ्चार जगतले श्रमिक वर्गको आवाजलाई सम्प्रेषण गर्नुपर्ने बताएका छन् । उनले अनलाइनलाई शुभकामना सन्देश दिदै भनेका छन्, “सहिद, वेपत्ता, घाइते र अपाङ्गहरुका सपना साकार पार्ने रक्तिम बाटोमा दृढताका साथ अघि बढोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।”
इन्चार्ज भीमले मंसिर ८ गतेको दिन नेपाली श्रमजीवी वर्गको ऐतिहासिक दिन भएको भन्दै नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी आत्मसर्मणवाद, विसर्जनवाद र अर्कमण्यतावादका विरुद्ध संघर्ष गर्दै पार्टी पुनर्गठन गरेको दिन भएको भन्दै सम्पूर्ण जनसमुदायलाई शुभकामना समेत व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्,–“जनबाटो डटकमले विधिवत रुपमा अनलाइन शुभारम्भ गर्न लागेको बिषय अत्यन्त राम्रो हो । यसले जनताको आवाजलाई सही तरिकाले सम्प्रेषण गर्नेछ । निरन्तर जनताको पक्षमा आफ्नो विचार सम्प्रेषण गरिरहोस् ।”
सञ्चार क्षेत्रमाथि सरकारले गरेको दमनबारे भन्दै इन्चार्ज भीमले भनेका छन्, “पत्रकारिता क्षेत्र यस्तो क्षेत्र हो, सही र सत्य कुरालाई तिब्रतामा जनता माझमा फैलाउन सक्छ र यसको आधारमा जनताले आफ्नो धारणा बनाउँछन् । अहिले जनताले सत्य कुरा बोल्दा दण्डित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।...सत्ताका जस्तोसुकै दमनको सामना गर्न पनि फेरि हामी तयार हुनुपर्दछ ।”
दलाल राज्यसत्ताका कारण श्रमजीवी पत्रकारहरुले न्युनतम पारिश्रमिक समेत पाउन नसकेको कारण पत्रकारहरुको अवस्था दयनीय रहेको बताउँदै सन्देशमा भनेका छन्, “यो लोक (जनता) को व्यवस्था होइन, यो दलालहरुको व्यवस्था हो । अथवा यो दलाल पुँजीवादी व्यवस्था हो । जनताले हिजो जे प्राप्तिका निम्ति त्याग गरे, त्यो सपना पुरा हुन सकेन ।”
प्रतिक्रिया राख्नुहोस्