साम्राज्यवाद र सामन्तवादको एकताबाट दलाल पुँजीवादको जन्म भएको हो । त्यसैले दलाल पुँजीवादलाई सामन्तवाद र साम्राज्यवादको अवैध सन्तान पनि भनिन्छ । सामन्ती सत्ता र त्यसको उत्पादन प्रणालीको अन्त्य गरी स्थापित भएको पुँजीवादी सत्ता र त्यसको उत्पादन प्रणालीबाट पनि श्रमजीवि जनतामाथिको शोषण दमन र उत्पीडनको अन्त्य भएन । शोषणका रुपहरु फेरबदल भए तर शोषण हटेन । त्यस सम्बन्धमा कम्युनिस्ट घोषणापत्रमा उल्लेख गरिएको छ, “सामन्ती समाजको भग्नावेशबाट जन्मेको आधुनिक पुँजीवादी समाजले वर्ग वैरभावलाई अन्त्य गरेको छैन । यसले पुराना वर्गहरुको स्थानमा नयाँ वर्गहरु थिचोमिचोको पुरानो अवस्थाको स्थानमा नयाँ अवस्था र संघर्षका पुराना रुपहरुको स्थानमा नयाँ रुपहरु मात्र कायम गरेको छ ।”
उपरोक्त भनाइबाट के स्पष्ट हुन्छ भने पुँजीवादी राज्यव्यवस्था पनि तत्कालीन अवस्थामा सामन्तवादको तुलनामा केही प्रगतिशील देखिएपनि अन्ततः नीजि स्वामित्वमा आधारित शोषणकारी व्यवस्था नै हो । पुँजीवादी शोषणका विरुद्ध सर्वहारा श्रमजीवि जनताले आन्दोलन गर्नु आवश्यक हुन गयो ।
सुरुका अवस्थामा मजदुर आन्दोलनहरु मार्गनिर्देशक वैचारिक हतियारको अभावमा ज्याला वृद्धि सेवा सुविधा थप जस्ता मागहरुलाई लिएर गरिने आन्दोलनमा सिमित देखिन्थे । उत्पादनमा असहयोग गर्थे । मार्क्सवादको विकासको थालनीसंगै सन् १८२८ मा बेलायतमा भएको चार्टिस्ट आन्दोलनले वैचारिक आधारबाट आफूलाई निर्देशित ग¥यो । सन् १८४८ मा कार्ल मार्क्स र एङ्गेल्सद्धारा जारी “कम्युनिस्ट घोषणापत्र”ले सुस्पष्ट रुपमा श्रमजीवि जनतालाई वैचारिक हतियार प्रदान ग-यो । वर्गीय मुक्तिका निम्ति राज्यसत्ता बाहेक अरु सवै भ्रम हो भन्ने कुरा स्पष्ट पा-यो । त्यही मार्गनिर्देशनमा फ्रान्समा सन् १८७१ मा पुँजीवादी शासनमाथि कम्युनको विजय भयो । जसलाई युगान्तकारी पेरिस कम्युनका नामले चिनिन्छ । सिमा समस्याका कारण केवल ७२ दिन मात्र टिकेको भएपनि त्यसले पुँजीवादी सत्तामाथि सर्वहारा श्रमजीवि जनताले विजय प्राप्त गर्न सक्छन् । र कम्युनिस्ट सरकार स्थापना गर्न सक्छन् भन्ने सन्देश प्रवाह ग-यो । त्यसैक्रममा सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग सहित श्रमिक जनताले ऐतिहासिक, साहसिक र बलिदानीपूर्ण आन्दोलन गरे । उक्त बलिदानको उच्च सम्मान गर्दै आज संसारभरका मजदुरहरुले हरेक बर्षको मे १ तारिकका दिन मजदुर दिवस मनाउने गर्दछन् ।
पुँजीवादी सत्तामाथिको निर्णायक बज्रप्रहार लेनिनको नेतृत्वमा सन् १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिले ग-यो । जसको कारणले विश्वव्यापी रुपमा राष्ट्रिय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनको आँधीवेहरी सिर्जना हुन पुगे । त्यस्तो अवस्थामा पुँजीवादले एक्लै सत्ता जोगाउन नसक्ने भएपछि सामन्तवादसंग एकता गर्न पुग्यो । र सामन्तवादी दर्शनलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाउन स्वीकार ग-यो ।
पुँजीवादी साम्राज्यवादले सन् १९१९ सम्म करिब १०० भन्दा बढी देशहरुमा उपननिवेश कायम गरेको र संसारभरका जनसङ्ख्याको करिब ७० प्रतिशत जनतामाथि शासन गर्दथ्यो । राष्ट्रिय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनको प्रभावले १९८० सम्म आउँदा प्रत्यक्ष उपनिवेश भोग्ने जनता मात्र ०.३ प्रतिशत रहन गए । त्यस क्रममा साम्राज्यवादी शक्तिहरुले नयाँ रणनीति अबलम्बन गरे । प्रत्यक्ष उपनिवेशबाट पछि हट्ने र अर्धऔपनिवेश कायम गर्ने । त्यस पुँजीवादी रणनीतिको उद्देश्य थियो–वर्गीय मुक्ति आन्दोलनलाई कमजोर बनाउने र राष्ट्रिय मुक्ति आन्दोलनमा सहभागी सामन्ती तथा कुलिन वर्गका व्यक्तिहरुलाई आफ्ना दलाल बनाउने र तिनीहरुका हातमा सत्ता सुम्पने । यसरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुमा चीन, क्युबा, उत्तरकोरिया, भेनेजुएला लगायतका देशहरु बाहेक अधिकांश देशहरुलाई अर्धऔपनिवेशिक बनाए । राजतन्त्रतात्मक मुलुक होस् या गणतन्त्रात्मक मुलुक होस्, शासन सत्तामा टिक्नका लागी साम्राज्यवादको दलाल बन्नै पर्ने अवस्था सिर्जना हुन पुग्यो । सन् १९४९ मा माओको नेतृत्वमा महान चिनियाँ जनवादी क्रान्ति सम्पन्न हुँदासम्म पुँजीवादी सत्ता आफ्नो अस्तित्वको लडाइँ लड्न बाध्य हुन पुग्यो । जसको परिणाम सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्तिको नेतृत्व गर्न पुगेको राष्ट्रिय पुँजीपति वर्गले आफ्नो पहिचान गुमाउन पुग्यो र सामन्तवाद र साम्राज्यवादको दलालीमा सत्तामा साझेदारीका लागी मात्र आन्दोलन गर्ने गरि दलाल पुँजीवादी चरित्रमा पतन हुन पुग्यो । यसरी दलाल पुँजीवादको उदय भयो । विचारधारात्मक हिसाबले सामन्तवादी र साम्राज्यवादी आर्थिक प्रणाली अँगालेको पुँजीवादलाई दलाल पुँजीवाद भनिन्छ ।
नेपालको सन्दर्भमा नेपाली राज्यसत्ताको चरित्र औपनिवेशिक दलाल पुँजीवादी छ । पूर्व सामन्तवादीहरु दलाल पुँजीपतिहरु र नोकरशाह पुँजीपतिहरु एकअर्कामा रुपान्तरण र अन्तरघुलित भएका छन् । तिनीहरुको रुपमा सामन्त, नोकरशाह र पुँजीपति देखिएपनि तिनीहरुको सार दलाल पुँजीवाद नै रहेको छ । सन् १८१६ को सुगौली सन्धिदेखि शासन सत्तामा रहेका शासकहरुले सामन्ती राष्ट्रवाद, देशभक्ति राष्ट्रसेवी र राष्ट्रिय पुँजीपतिको चरित्र गुमाउन पुग्दा नेपाली राज्यसत्ताको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक बन्न पुगेको थियो । २०४६ को परिवर्तन पश्चात देशभक्त शक्तिबाट स्खलित हुँदै गएको तत्कालीन नेकपा (एमाले) र शान्तिप्रक्रियामा आउनुपूर्व क्रान्तिकारी देशभक्त शक्तिमा रहेको तत्कालीन नेकपा(माओवादी) माओवादी केन्द्र हुँदै एमालेमा नै बिलय भई सामाजिक दलाल पुँजीवादमा पतन हुन पुग्यो । यसरी संघीय लोकतान्त्रिक गणतन्त्र नामको संसदीय व्यवस्थासम्म आइपुग्दा नेपाली राज्यसत्ताले नवऔपनिवेशिक दलाल पुँजीवादी चरित्र ग्रहण गर्न पुगेको छ । अहिले नेपालको अर्थतन्त्रमाथि तिनै दलाल पुँजीपति, सामन्ती दलाल र नोकरशाही दलाल पुँजीपतिहरुको आधिपत्य कायम हुन पुगेको छ । सन २०१९ को आर्थिक सर्वेक्षण हेर्दा नेपालका १० जना अर्बपतिहरुमा तिनै दलाल पुँजीपतिहरु रहेका छन् । सन् २०१९ को तथ्याङ्क अनुसार ती १० जना उच्च घरानाहरु यस प्रकार रहेका छन् :
१. विनोद चौधरी १.७ खर्ब अमेरिकी डलर
२. शेष घले ६४७ अर्ब अमेरिकी डलर
३. उपेन्द्र महतो ५०० अर्ब अमेरिकी डलर
४. अजय सुमार्गी २०० अर्ब अमेरिकी डलर
५. आदित्य झा १०० अर्ब अमेरिकी डलर
६. जिबा लामिछाने ९२ अर्ब अमेरिकी डलर
७. पशुपति शम्शेर जबरा ८४ अर्ब अमेरिकी डलर
८. बलाराम चोराई ७० अर्ब अमेरिकी डलर
९. राजेन्द्र खेतान ६२ अर्ब अमेरिकी डलर
१०. ज्ञानेन्द्र शाह ५८ अर्ब अमेरिकी डलर
जसरी साम्राज्यवादीहरुमा समाजवादी खोल ओढेको सामाजिक साम्राज्यवाद देखा प-यो र अन्ततः खुल्ला साम्राज्यवादमा उदाङ्गिन पुग्यो । त्यसैगरि साम्राज्यवादले पिछडिएका देशमा दलाल पुँजीवादी सत्ताको आयु लम्ब्याउन कम्युनिस्टको खोल ओढेका र आफुलाई समाजवादी बताउने सामाजिक दलाल पुँजीवादलाई पनि संरक्षण गर्ने नीति अवलम्बन गरेको छ । राष्ट्रिय स्वाधिनता र वर्गीय मुक्ति आन्दोलनलाई दमन गर्नका निम्ति पुराना बदनाम दलाल भन्दा नयाँ दलालबाट सहज हुने र जनतामा बढी भ्रम सिर्जना गर्न सक्ने भएकोले त्यस्ता सामाजिक दलाल पुँजीपतिहरुलाई प्रयोग गर्न साम्राज्यवादले सरकारमा समेत पु-याउने गर्दछन् । कम्युनिस्टको खोल ओढ्ने र कम्युनिस्टको मूल मर्म, वर्गसंघर्ष, शसस्त्र संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वमाथि नै प्रहार गर्ने साम्राज्यवादी दलालहरुलाई सामाजिक दलाल पुँजीवाद भनिन्छ ।
अहिले नेपालको सत्तामा पुगेको त्यो सामाजिक दलाल पुँजीवाद जनताका निम्ति घाँसमा लुकेको हरियो सर्पजस्तै हो । यसले अन्ततः फासीवादी चरित्र ग्रहण गर्दछ । यसले जनतालाई भ्रम पार्न कम्युनिस्टको नाम राखेर अन्त्यसम्म प्रयास गरिरहन्छ र एउटा निश्चित अवस्थामा पुगेपछि मात्र कम्युनिस्टको खोल फाल्न पुग्नेछ ।
पुराना दलालहरुको तुलनामा यसले जनतालाई राज्यसत्ताबाट विमुख पार्न र नवऔपनिवेशिक दलाल पुँजीवादी सत्ता टिकाउन सम्पूर्ण शक्ति खर्च गर्दछ । दलाल पुँजीवादी सत्ताभित्रैबाट शान्ति, विकास र समृद्धि देखाउन बढी सिपालु हुन्छ । विभिन्न जनवर्ग समुदायका सीमित सचेत नागरिकहरुलाई आर्थिक प्रलोभनमा पार्ने र जनताको नेतृत्व गर्ने शक्तिलाई कमजोर बनाउने असफल प्रयास गरिरहन्छ । हरेक सचेत नागरिक र त्यसमा पनि आम युवाहरुले के बुझ्नु पर्दछ भने सामाजिक दलाल पुँजीवादी सत्ताको आर्थिक प्रलोभनले मानिसलाई भ्रष्ट र अनैतिक बनाउँदछ । राष्ट्रिय स्वाभिमान, व्यक्तिगत इज्जत प्रतिष्ठा, देश र जनता प्रतिको सेवा गर्ने क्रान्तिकारी भावना र जिम्मेवारीबाट च्युत बनाउँदछ । आर्थिक प्रलोभनका बारेमा साङ्घाइ टेक्स्स बुक्स खण्ड–२ को हिन्दी संस्करणमा भनिएको छ, “आर्थिक प्रलोभन क्रान्तिकारी विचार र भावनालाई पक्षघात गराउने अफिम मिश्रित दबाई समान हो । आर्सेनिकको मिठो गोली हो । मुलायम छुरा हो, जसले एकथोपा रगत नबगाई हत्या गर्न सक्दछ ।” त्यसैले सामाजिक दलाल पुँजीवादका विकास र समृद्धिका नारा दलाल पुँजीवादी सत्ताका आयु लम्ब्याउने चाल मात्र हुन् भन्ने यथार्थतालाई समयमा नै नाङ्गेझार पार्न क्रान्तिकारी कम्युनिस्टहरु हरदम तयार रहनुपर्दछ । यसका साथै दलाल पुँजीवादका विरुद्धको संघर्षलाई अवसरवादका विरुद्धको संघर्षका साथ जोड्नुपर्दछ । नत्र त्यो केवल क्रान्तिकारी लप्फाजी मात्र बन्न जान्छ ।
संशोधनवाद–समाजवादी सत्ता कब्जा गर्न पुग्दा त्यो सामाजिक साम्राज्यवादमा पतन हुन पुग्दछ । नवउपनिवेशिक तथा विकासोन्मुख राष्ट्रको बनिबनाउ राज्यसत्तामा पुग्नका लागी पहिले नै अन्तरवस्तुको हिसावले संशोधनवाद साम्राज्यवादको दलाल बनिसकेको हुन्छ । त्यसलाई कम्युनिस्ट पार्टीको आवरणले ढाकिएको हुन्छ । पुराना घोषित दलाल पुँजीपतिहरुको शोषण, दमन, उत्पीडन र विभेदबाट आक्रान्त भएको जनतालाई केही समयसम्म भ्रम दिन साम्राज्यवादलाई सहज हुन्छ । संशोधनवाद सफल हुँदासम्म साम्राज्यवादको सेवा गरिरहेको हुन्छ । साम्राज्यवादले आफ्नो स्वार्थसिद्ध गरिसकेपछि यिनलाई मिल्काउने गर्दछ र कम्युनिस्टहरुको पतन भएको हल्ला फिँजाउँछ । किनभने नक्कली कम्युनिस्ट असली पुँजीवाद हो भन्ने कुरा आम जनतामा स्थापित भइसकेको हुँदैन ।
मार्क्सवादको उदयसँगसँगै संशोधनवादको पनि उदय भएको हो । संशोधनवादको संस्थागत सुरुवात दोस्रो अन्तर्राष्ट्रियबाट भएको हो । दोस्रो अन्तर्राष्ट्रियका कार्ल काउत्स्की र बर्नस्टीनहरुले संशोधनवादको सुरुवात गरेका हुन् । उनीहरुले तथाकथित “उत्पादन शक्तिको सिद्धान्त” अगाडी सारेका थिए । उनीहरुको जोड के मा थियो भने उत्पादक शक्तिको व्यापक विकास नभईकन समाजवादी क्रान्ति सम्भव हुँदैन । पुँजीवादको उच्च विकास भएपछि शान्तिपूर्ण तरिकाले पनि समाजवादमा रुपान्तरण गर्न सकिन्छ । त्यसकारण सवै मुलुकहरुले सवभन्दा पहिले उत्पादनको तीव्र विकास गर्नुपर्दछ । उनीहरुको त्यस भनाईको मुख्य उद्देश्य शसस्त्र क्रान्ति र सर्वहारा अधिनायकत्वको विरोध गर्नु थियो र पुँजीवादी सत्तालाई यथावत कायम राख्नु थियो । पुँजीवाद विकास भएर शान्तिपूर्ण रुपमा समाजवादमा परिणत हुनै सक्दैन भन्ने मार्क्सवादी मान्यतालाई कमजोर बनाउनु थियो । मार्क्स–एङ्गेल्सले त्यसप्रकारको विचारको डटेर खण्डन गर्नुभयो ।
महान अक्टोबर समाजवादी क्रान्तिमा तिनै संशोधनवादी उत्तराधिकारीको रुपमा ट्राटष्की र बुखारिनहरु अगाडी आए र पिछडिएको रुसमा समाजवादी क्रान्ति सम्पन्न नसक्ने हुँदा पहिले तीव्र आर्थिक विकास गर्नुपर्ने उही उत्पादक शक्तिको सिद्धान्त अगाडी सारे । लेनिनले त्यसको कडा प्रतिवाद गर्दै क्रान्तिलाई विजयमा पु-याउनु भयो । चिनियाँ महान जनवादी–समाजवादी क्रान्तिकालमा चेन तू–स्यू, लिऊ शाओ–ची, देङ स्याओ पिङ लगायतका संशोधनवादका उत्तराधिकारीका रुपमा अगाडी आए । जसले त्यही “उत्पादन शक्तिको सिद्धान्त” अगाडी सार्दै संशोधनवादको वकालत गरे । क्रान्ति सम्पन्न भएपछि पनि संशोधनवादलाई स्थापित गर्न “विरालो सेता होस् वा कालो, उसको काम मुसा मार्नु हो” भन्ने तर्क अगाडी सारे । त्यसको कुतर्कको खण्डन गर्दै माओले भन्नुभयो, “सेतो विरालोले मुसा मारे सेतोले नै खान्छ, कालो विरालोले मारे कालोले खान्छ ।” जसको अर्थ थियो–सामूहिक तथा सार्वजनिक तथा समाजवादी उत्पादन प्रणालीमा भएको विकासले श्रमजीवी जनताको जीवन स्तरलाई माथि उठाउँदछ भने निजी स्वामित्वमा आधारित पुँजीवादी उत्पादन प्रणालीमा भएको विकासले मुठ्ठीभर परजीवी वर्गको विलासीतापूर्ण जीवनका लागी लाखौं मजदुरहरुको शोषण गर्दछ । त्यसकारण निजी स्वामित्वको पुँजीवादी शोषणकारी उत्पादन प्रणालीको अन्त्य नगरेसम्म श्रमजीवी जनताको जीवन माथि उठ्न नसक्ने कुरालाई आत्मसात गर्दै माओ अगाडि बढ्नु भयो ।
नेपालका संशोधनवादी, नवसंशोधनवादी जुन सामाजिक दलाल पुँजीवादमा पतन भएका छन् तिनले पनि उनै अन्तर्राष्ट्रिय संशोधनवादीहरुका नारालाई सापट लिएर विकास र समृद्धिको वकालत गरिरहेका छन् । स्वतन्त्र प्रतिस्पर्धात्मक विश्व बजारको उत्तरसाम्राज्यवादी निगम पुँजीवादी, नवऔपनिवेशिक दलाल पुँजीवादी अर्थप्रणाली नबदलेसम्म गरिने विकासले श्रमजीवी जनताको जीवनस्तर माथि उठ्ने त प्रश्न नै हुँदैन । यहाँ त राष्ट्रिय पुँजीपतिवर्गको समेत विकास हुन सम्भव हुँदैन ।
पुँजीवादी अर्थप्रणालीभित्र समाजवादी अर्थप्रणालीका अङ्गहरुको जन्म नै हुन सक्दैन भन्दै सोभियत राजनीतिक अर्थशास्त्रको पाठ्यपुस्तकमा उल्लेखित “निजी स्वामित्वमा आधारित पुँजीवादी अर्थतन्त्र अन्तर्गत समाजवादी अर्थतन्त्रका अङ्गहरु परिपक्क हुन सक्दैनन् ।” भन्ने भनाइलाई अझ प्रस्ट पार्दै माओले भन्नुभएको छ, “वास्तवमा ति परिपक्क हुन नसक्ने मात्र होइनन् ती जन्मन पनि सक्दैनन् । पुँजीवादी समाजमा सहकारी वा राजकीय अर्थतन्त्रलाई स्थापित गर्न सकिन्न, परिपक्क बनाउने प्रश्न त उठ्नै सक्दैन । संशोधनवादसितको हाम्रो मुख्य भिन्नता यही हो ।” माओको उपरोक्त भनाईले पनि नेपालका सामाजिक दलाल पुँजीवादीहरुको समाजवादउन्मुख विकास र समृद्धिको नारा कति पाखण्डपूर्ण छ भन्ने कुरालाई पुष्टि गर्दछ ।
जुनसुकै रुप र रङको भएपनि र जेजस्तो खोल ओढेको भएपनि दलाल पुँजीवादका विशेषताहरु समान हुन्छन् । ती विशेषताहरुलाई निम्न अनुसारको बुँदामा उल्लेख गर्न सकिन्छ ।
(१) कमिसन, घुसखोरी र भ्रष्टाचारबाट पुँजी सङ्कलन गर्नु : दलाल पुँजीवादले आपैm उद्योग सञ्चालन गरेर मुनाफा असुल्ने गर्दैन । यसले त विदेशी एकाधिकारी निगम पुँजीवादीहरुलाई देशको प्राकृतिक स्रोत साधन दोहन गर्नका लागी खुल्ला छुट दिए वापत पाएको कमिसन र जनतामाथि गरेको भ्रष्टाचारबाट पुँजी सङ्कलन गर्दछ ।
(२) पुँजी पलायन गराउँदछ : विदेशी एकाधिकारी निगम पुँजीपतिहरुलाई मुनाफा सोहोरेर आ–आफ्नो मुलुकमा लैजान खुला छुट दिने मात्र होइन, आफुले जम्मा गरेको पुँजी पनि विदेशमा नै थुपार्ने गर्दछ ।
(३) बजारमा एकाधिकार कायम गराउँदछ : यसले राष्ट्रिय उद्योगहरुलाई धरायसी बनाउँछ र विदेशी एकाधिकारवादी निगम पुँजीवादीहरुलाई बजार कब्जा गर्न कानुन बनाएरै छुट दिन्छ ।
(४) राष्ट्रिय अर्थतन्त्रको नियन्त्रण : आत्मनिर्भर अर्थतन्त्र होइन, राष्ट्रको सिङ्गो अर्थतन्त्रमाथि साम्राज्यवादी निगम पुँजीवादीहरुको नियन्त्रण कायम गराउँदछ ।
(५) देशलाई वैदेशिक ऋणको भारी बोकाउँदछ : देशको प्रशासन सञ्चालन गर्न समेत अन्तर्राष्ट्रिय वित्तिय निगमसँग ऋण लिने गर्दछ । व्यापार घाटा तीब्र गराउँदछ ।
(६) देशका सवै आर्थिक क्षेत्रमा मात्र होइन, सामाजिक, सांस्कृतिक, शैक्षिक सबै सामाजिक क्षेत्रमा पनि परनिर्भर र हस्तक्षेपलाई निम्त्याउँछ । देशको शासनसत्तामा उत्तरसाम्राज्यवादी एकाधिकारी निगम पुँजीवादीहरुको कठपुतलीको रुपमा काम गर्दछ ।
(७) निगम पुँजीवादी उत्तरसाम्राज्यवादीहरुको आर्थिक नीति उदारीकण, नीजिकरण, स्वतन्त्र प्रतिपस्र्धात्मक खुला बजारको अर्थनीतिलाई पालना गरिरहन्छ ।
(८) धर्मलाई राज्य सञ्चालनको वैचारिक आधार बनाउँछ र सामन्तवादसँग एकता र श्रमिक जनतासँग दुश्मनी बढाउँदछ ।
वर्तमान नेपालको सत्ता उपरोक्त विशेषतामा आधारित भएकोले दलाल पुँजीवादी सत्ता भनिएको हो ।
स्रोत : गण्डक आब्हान
प्रतिक्रिया राख्नुहोस्