संसद विघटनको प्रस्तावप्रति सर्वत्र विरोध,सुरक्षा निकाय एलर्ट

गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’

संसद विघटनको प्रस्तावप्रति सर्वत्र विरोध,सुरक्षा निकाय एलर्ट

पुष ५, बुटवल । प्रधानमन्त्री केपी वलीले संसद विघटन गर्ने प्रस्ताव गरेपछि सर्वत्र विरोध भएको छ । प्रस्तावप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै लोकतान्त्रिक शक्तिहरुसँग सहकार्यको निम्ति आब्हान गरेका छन् । त्यसैगरी पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतले गणतन्त्रमाथि कु भएको बताउदै प्रस्तावको विरोध गरेका छन् । 
डबल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्,“आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले संघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो । यो लागु हुन सक्दैन । यसको बिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।” संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् । आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेर मुलुकलाई डरलाग्दो स्थितिमा धकेलेको बताए । 
मन्त्रिपरिषद् बैठकले संसद् विघटनको निर्णय गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाउन चारै वटा सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको सम्बन्धिन सुरक्षा निकायका स्रोतले जानकारी दिएका छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो । 
प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको मुख्यालय स्रोतले नेपाल लाइभलाई  जानकारी दियो। ’सरकारबाट कुनै पनि निर्देशन आएको छैन। तर विघटनको सिफारिससँगै चुनौतीलाई दृष्टिगत गरी हामीले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छौं,’ मुख्यालय स्रोतले भन्यो ।
यस्तै नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूलाई निर्देशन जारी गरेको छ । सैनिक स्रोतले भनेको छ, ’सबै पृतनापतिलाई सतर्क रहन भनिएको छ।’ यस्तै गुप्तचर र सशस्त्र प्रहरीले पनि सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छन् ।