युवा संगठन नेपाल घोराही नगरको प्रथम भेला 

दलाल पुजीवादी सत्ता अत्तालिएर प्रतिबन्ध लगाएको जिकिर

युवा संगठन नेपाल घोराही नगरको प्रथम भेला 

हेमन्त प्रकाश वली/ फागुन ३, दाङ । नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल घोराही नगरको प्रथम भेला घोराहीमा सम्पन्न भएको छ ।

नेकपा दाङ जिल्ला इन्चार्ज प्रेमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल घोराही नगर इन्चार्ज अजयले गर्नुभएको थियो । प्रथम भेलालाई सम्बोधन गर्दै प्रेमले देशमा दलालीकरण,भ्रष्टाचार, हत्या हिंसा, बलात्कार जस्ता घटना दिनप्रतिदिन बढिरहेकाले त्यसका विरुद्ध निर्मम संघर्ष गर्न आह्वान गर्नुभयो । उहाँले आफ्नो पार्टी राष्ट्रघात, जनघात, भ्रष्टाचार तथा दलालहरुका विरुद्ध संघर्ष गरेकै कारणले नै दलाल पुजीवादी सत्ता अत्तालिएर प्रतिबन्ध लगाएको जिकिर समेत गर्नुभयो । प्रमुख अतिथि प्रेमले एकीकृत जनक्रान्तिको कार्यदिशामा सम्पुर्ण युवाहरु गोलबन्द हुन र वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको दिशामा अघि बढ्न अपिल समेत गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलले युवाहरुको काधमा ऐतिहासिक जिम्मेवारी थपिएको र त्यो पूरा एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित भएर हुने उद्घोष गर्नुभयो । कार्यक्रममा युवा संगठन नेपाल दाङ जिल्ला संयोजक मनोज, नेकपा घोराही नगर इन्चार्ज जनक, अखिल(क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक अनिलको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण खुमनले गर्नुभएको थियो ।भेलाले प्रभुत्वको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी चयन गरेको छ ।