Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अनेकोटका ती महान सहिदहरुप्रति - Janabato
अनेकोटका ती महान सहिदहरुप्रति


सुमन नेपाली

ए ! अनेकोट र भावाङका
बर्बर नरसंहारहरु
तिमी हिसाव राख्नु
तिम्रो काखमा बगेको थोपा थोपा रगतहरुको
तिमी हिसाव राख्नु
तिम्रो काखमा घटेका 
क्रुरता र नृशंसताहरुको
–इच्छुक (बन्दी र चन्द्रागिरि)


चैत्र ५ जनसांस्कृतिक आन्दोलनको इतिहासमा एउटा कालो दिन हो । संसदीय क्रुर सत्ताले अनेकोटमा जनसांस्कृतिक आन्दोलनका ७ जना योद्धाहरुको सामूहिक हत्या गरेको दिन । एउटै घरमा बसिरहेको बेला अखिल नेपाल जनसांस्कृतिक महासंघका ७ जना निशस्त्र कलाकारहरुलाई घरमा आगो लगाई गोली ठोकी नृशंस हत्या गरेको कालो दिन हो चैत्र ५ । 

यसरी हत्या गरिने कलाकारहरुमा अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामा, फिक्कल सांस्कृतिक परिवार सिन्धुलीकी निर्मला देवकोटा मञ्जु कुँवर, शृंखला सांस्कृतिक परिवार सिन्धुपाल्चोकका डम्बर श्रेष्ठ, सुभ्रदा सापकोटा, झुपडी सांस्कृतिक परिवारका गम्बसिंह तामाङ, चिनिमाया लामा हुनुहुन्थ्यो । त्यो हत्या घटनामा एमालेका तर्फबाट उठेका सांसद विदुर सापकोटा तथा एमालेककै जिल्ला कार्यकर्ता जनार्दन अधिकारी, मुकुन्द गौतमको अगुवाई तथा डीएसपी केशव बस्नेतको नेतृत्वमा भएको थियो । 

२०५५ साल चैत्र ५ गते भएको उक्त घटनाको स्मरणमा अखिल नेपाल जनसांस्कृतिक महासंघले चैत्र ५ लाई प्रतिरोध दिवसको रुपमा मनाउँदै आएको छ । २०७३ चैत ५ गते यही सन्दर्भमा महासंघ अन्तर्गत लुम्बिनी व्युरोले गत चैत्र ५ गते कपिलवस्तुको दक्षिणी बनगोवा गाउँमा पुगेर अपार जनताको सहभागितामा सांस्कृतिक कार्यक्रम सहित अनेकोटमा सहादत प्राप्त गर्ने महान् सहिदहरुको स्मरण गरेको थियो । अहिले महासंघ केन्द्रीय समितिले बुटवलमा सामना परिवार र क्षितिज परिवारको सांस्कृतिक प्रस्तुति सहित सहिदहरुको स्मरण गर्दैछ । 

चैत्र ५ गते अनेकोटमा भएको प्रहरी दमन र बर्बरताको त्यो घटनाले जनसांस्कृतिक आन्दोलनको क्षेत्रलाई नभई सिङ्गो जनमानसलाई स्तब्ध पारेको थियो । मादल, हार्मोनियम र बासुरी बोकेर जनताका गीत गाउँदै हिडिरहेका कलाकारहरुमाथि गरिएको त्यस किसिमको हिटलरी दमनको जति निन्दा गरेपनि कम हुन्छ । जनताका पक्षधर कलाकर्मीहरुले उक्त नृशंस घटनाको निन्दा गर्नुपर्दछ । फासीवादका विरुद्ध हरेक संघर्षमा केही योगदान दिन सकेमा नै सांस्कृतिक सहिदहरुप्रति सही अर्थमा सम्मान ठहर्न सक्दछ । त्यो घटना एउटा दुखद घटना त थियो नै, तर त्यहाँभित्र एउटा उदात्त भाव र सौन्दर्यात्मक आदर्श पनि थियो । त्यो जनसांस्कृतिक आन्दोलनको इतिहासमा त्याग, बलिदान र समर्पणको उदात्त उदाहरण थियो ।  

अहिले कथित ‘शान्ति–सम्झौता’ का नाममा ती महान् सहिदका सपनाहरुमाथि प्रतिक्रान्तिको निर्मम बुलडोजर लगाइएको छ र कवि इच्छुकले भनेजस्तै ती प्रत्येक थोपा–थोपा रगतको हिसाव किताव गर्ने बेला भएको छ । जनयुद्धका नायक प्रचण्ड आज संसदीय प्रतिक्रान्तिका खलनायक भएका छन् र उल्टै उनी आफै ती महान योद्धाहरुका रगत र छातीमाथि टेकेर प्रतिक्रियावादी एमालेमा विसर्जन भएका छन् । त्यसकारण कमरेड माक्र्सले भनेजस्तै हरेक प्रतिक्रान्तिको जवाफ क्रान्ति मार्फत दिने बेला आएको छ । ओली–प्रचण्डको फासीवादी हर्कत विरुद्ध फेरी एकपटक क्रान्तिकारीहरुले जमेर प्रतिरोध गर्नु आवश्यक छ र दुःखी, भोका नाङ्गाहरुको समाज व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागी क्रान्तिकारीहरु दृढतापूर्वक एक ठाउँमा उभिनु आवश्यक छ । 

संसदीय राज्यसत्ताले मच्चाउने आतंकले विचारलाई रोक्न सक्दैन । क्रान्तिकारीहरुलाई हत्या गरेर, जेलनेल राखेर क्रान्तिको सपना रोकिदैन । विचारका आवाजहरुलाई बन्दुकले रोक्न सक्दैन । अनेकोट ! तिमीलाई हृदयदेखि नै क्रान्तिकारी सलाम ! तिम्रा सपनाहरु एकदिन पुरा भएरै छाड्नेछन् ।