बुटवल : बुटवलमा वायु प्रदूषण ‘खतरनाक’ तहमा पुगेको वायु गुणस्तर नाप्ने एक अन्तराष्ट्रिय कम्पनीको तथ्याङ्कमा देखिएको छ ।
मंगलबार ११ बजेर ४५ मिनेटमा लिइएको तथ्याङ्क अनुसार बुटवलको वायु गुणस्तर सूचक (एयर क्वालिटी इण्डेक्स) ३५० देखिएको छ । तथ्याङ्कले काठमाडौं र पोखराको सूचक क्रमशः २०९ र २१४ देखाएको छ ।
‘केही दिनदेखि तराईका क्षेत्रमा वायु प्रदूषणको समस्या निकै ठूलो देखिएको छ,’ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले भने–‘काठमाडौं लगायत तराईका करिब सबै जिल्लामा अहिले वायु निकै अस्वस्थकर बन्दै गएको छ ।’
वायु गुणस्तर मापक कम्पनी ‘आइक्यूएयर’का अनुसार अहिले बुटवलको वायु गुणस्तर सूचकले ‘मरुन’ रंग छोएको छ अर्थात्, स्वास्थ्यमा पार्ने जोखिमका हिसाबले ‘हाजार्डस’(खतरनाक) तहमा पुगेको छ । हावामा प्रदुषित तत्वहरुको सांद्रता(concentration)का आधारमा निकालिने एक्यूआईलाई विष्लेशण गरी हावाको गुणस्तर निकालिन्छ । (हे. टेवल)
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा जडित अर्को वायु गुणस्तर मापक कम्पनी ‘पर्पलएअर’को उपकरणमा देखिएको तथ्याङ्कलाई विष्लेशण गरी ‘आइक्युएअर’ले उक्त तथ्याङ्क निकालेको हो । उपकरणले ‘लेजर पार्टिकल’को प्रयोगबाट हावा तैरिएका हानिकारक कणहरुको मापन गर्छ ।
अमेरिकी सरकारी एजेन्सी नासाको सोमबार रातीको स्याटेलाइट तस्वीरमा बुटवलको वायुमण्डलमा बाक्लो तुँवालो लागेको देखिएको थियो भने उत्तर, पूर्व र पश्चिमका दर्जनौं क्षेत्रमा डढेलो लागिरहेको देखिएको थियो । जल तथा मौसम विज्ञान विभागले ‘डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा संचित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको’ बताएको छ ।
बुटवल आसपासका कति जिल्लामा डढेलो लागेको भन्ने यकिन तथ्याङ्क नभएपनि नासाको स्याटेलाइट तस्वीरले दर्जनौं स्थानमा साना ठूला डढेलो लागिरहेको देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले ‘प्रदेशका ८ वटा जिल्लामा डढेलो लागेको तर कति वटा क्षेत्रमा लागेको छ भनेर बल्ल तथ्याङ्क लिने काम भइरहेको’ बताए ।
वायुको गुणस्तर खस्किएपछि बुटवलमा केहीदिन यता बाक्लो तुँवालो लागिरहेको छ । जसले गर्दा ‘भिजिविलिटी’ घटेको छ भने एकैछिन बाहिर निस्कदासमेत आँखा पोल्ने र छाला चिलाउने जस्ता समस्या देखिएका छन् ।
वायु प्रदुषणका कारण बालबिालकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि देशभरका शिक्षण संस्थाहरु चारदिन बन्द गर्ने निर्णय गरेको थियो । तर प्याव्सनसम्बद्ध बुटवलका अधिकांश विद्यालयहरुले सरकारको निर्णय विपरित आज मंगलबार विद्यालयहरु सञ्चालन गरेका छन् । तर, हावा झनै अस्वस्थकर बन्दै गएकाले अबको तीन दिन विद्यालय बन्द हुने बताइएको छ ।
प्याव्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले विद्यालयमा पाठ्यक्रम नसकिने भएकाले विद्यालय खोलिएको भएपनि प्रदूषण बढ्दै गएकाले अबको तीनदिन विद्यालयहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको बताए । ‘आज होमवर्क दिन बोलाएका हौं,’ उनले भने–‘स्थानीय सरकारहरुसँग सहकार्य गरी अवका तीन दिन विदा दिने गरी सूचना जारी गरेका छौं ।’
यसअघि नै वातावरण विभागले ‘बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता स्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकोले उहाँहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र सबै उमेर समूहका नागरिकहरु पनि सम्भव भएसम्म घरबाहिर ननिस्कन साथै निस्कनै पर्ने अवस्थामा विशेष सावधानी अपनाउन, आगो बाल्दा समेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहोर बाल्ने र खुला रुपमा आगो बाल्ने कार्य नगरिदिनुहुन, विद्युतिय सवारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न’ अपील गरिसकेको छ ।
मंगलबार बिहान बुटवल-१२ बेलवासकाे जितेश्वरी सामूदायीक वनबाट देखिएको बुटवलको तुँवालो ।
कत्तिको विश्वनीय हुन्छन् अन्तराष्ट्रिय एजेन्सीका तथ्याङ्क ?
अन्तराष्ट्रिय एजेन्सीहरुले दिने तथ्याङ्क अनुमान र प्रक्षेपणमा आधारित हुने भएकाले पूर्णरुपमा भर पर्न नहुने भएपनि अहिलेको वातावरणीय अवस्थाको ‘विग पिक्चर’ भने देखाउने वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले बताए ।
यद्यपि, बुटवल क्षेत्रमा भुइँतहबाटै वायु प्रदुषणको तथ्याङ्क संकलन र विष्लेशण गर्न सक्ने खालको ‘विश्वस्नीय’ उपकरण प्रयोगमा छैन । यसअघि अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(आइसीमोड)को सहयोगमा लुम्बिनीमा राखिएको ‘एक्युआई स्टेशन’ बिग्रिएपछि अहिले मर्मतका लागि लगिएको छ । त्यसैले विदेशका निजी कम्पनीहरुले जोडेका उपकरणका आधारमा बुटवल क्षेत्रको वायु प्रदुषण विश्लेषण गर्नुपर्ने बाध्यता छ ।
अहिले बुटवलमा त्यस्ता उपकरण अमेरिकी कम्पनी ‘पर्पलएअर’ले कालिका मानवज्ञान माध्यमिक विद्यालय र लुम्बिनी प्रादेशिक अस्पतालमा जडान गरिदिएको छ । सोही उपकरणमा संकलित तथ्याङ्कको आधारमा ‘आईक्युएअर’ले माथिको विश्लेषण दिएको हो ।
के हो एक्यूआई ?
एक्युआई(एअर क्वालिटी इण्डेक्स) भनेको हावा कति स्वस्थकर छ भनेर मापन गरिने सूचक हो । यो मानिसले सास फेर्दा लिने हावाले निम्त्याउन सक्ने स्वास्थ्य खतराको बारेमा केन्द्रीत हुन्छ ।
एक्युआईले पाँच वटा मुख्य प्रदूषणका कारक तत्वहरुको मात्रा हावामा कति छ र त्यती मात्रा भएको हावाले मानव स्वास्थ्यमा कति असर गर्छ भनेर मापन गर्छ । ती तत्वहरु भूइँतहको ओजोन, कार्वन मोनोअक्साइड, सल्फर मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड र पिएम(हावामा तैरिने धुलो÷धूँवाका कण) हुन् । तीमध्ये भुइँतहको ओजोन र पिएम मानव स्वास्थ्यका लागि सबैभन्दा खतरा मानिन्छन् ।
एक्युआईलाई शून्यदेखि ५०० को स्केलमा नापिन्छ । स्केल जति बढ्दै जान्छ त्यती नै हावाको गुणस्तर घट्दै जान्छ ।
प्रतिक्रिया राख्नुहोस्