कविता सारु / पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाको १८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लङ्क रानाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सुदिप विश्वकर्मा, सचिवमा रूपा सेन, सहसचिवमा विद्या विश्वकर्मा, कोषाध्यक्षमा कविता सारू निर्वाचित भएका छन् । सम्मेलन तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसको हलमा सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय अध्यक्ष प्रविणले वर्तमान दलाल शिक्षा प्रणाली बेरोजगार जनशक्ति मात्र उत्पादन गर्ने शिक्षा प्रणाली भएको बताए । उनले सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्न अपिल समेत गरे । प्रवीणले अहिले शिक्षालाई उत्पादन प्रणालीसंग जोडेर आत्मनिर्भर बनाउन पार्टीले पहल गरिरहेको बताए । उनले युवा विद्यार्थीहरुलाई एकीकृत जनक्रान्तिमा समाहित गराउँदै व्यक्ति, समाज र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने तर्फ आफूहरु लागिरहेको बताए ।
नेकपा पाल्पा जिल्ला सचिव प्रभातले विगतको सन्दर्भमा नेकपाको तर्फबाट भएका घटनाहरू जनतामाथि अन्याय र दमन गरिएको कारणले जनताहरुले प्रतिरोध गरेको बताए । उनले दलालहरूलाई विगतमा दमन, विभेद, अन्याय, अत्याचारले सिमा नाघेपछि जनताले प्रतिरोध गरेको इतिहास नभुल्न आग्रह गरे । उनले पार्टीका नेता कार्यकर्ताहरुलाई अनावश्यक दुख दिने, निगरानी गर्ने, धरपकड गर्ने, जेलनेल, हिरासतमा राखेर समस्या समाधान नहुने र त्यसले झन् गहिरो खाडल र प्रतिशोध उत्पन्न गर्ने भएकाले राज्यलाई दमन नगर्न आग्रह गरे । उनले पार्टीले संसदीय व्यवस्थाको असफलता र विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा राजनीतिक एवम् वैचारिक अभियान चलाइरहेको बताए । उनले भने, ‘हाम्रो अभियान नेपाली जनता र देशको पक्षमा छ, वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको र नेपाली जनता अर्थात् उत्पीडित जनसमुदायको मुक्तिको पक्षमा छ ।’
अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले वैज्ञानिक समाजवादी शिक्षाले मात्र विद्यार्थीहरुको समस्या समाधान गर्ने बताए । उनले अहिलेको दलाल पुंजीवादी शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरेको र सम्पूर्ण जनसमुदायलाई एकीकृत जनक्रान्तिमा सामेल भएर समग्र समस्यालाई हल गर्न जोड दिनुपर्ने बताए ।
नवनिर्वाचित लङ्क रानाले नयाँ कार्यदिशाा तयार गरेर संगठनलाई अगाडी बढाउनुपर्ने बताए ।
कार्यक्रममा युवा संगठन नेपाल पाल्पा जिल्ला अध्यक्ष लिला सारू, विजय पुन, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई, नेपाली कांग्रेसका नेता हरिबोल भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
लङ्क रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्या विश्वकर्मालगरेका थिए भने स्वागत मन्तव्य मनिसा बमरेलले राखेका थिए ।
प्रतिक्रिया राख्नुहोस्