कोरोना संक्रमितहरूको निशुल्क उपचार गर्न (क्रान्तिकारी माओवादी)को माग

कोरोना संक्रमितहरूको निशुल्क उपचार गर्न (क्रान्तिकारी माओवादी)को माग

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले प्रेस वक्तव्य मार्फत् दिन प्रतिदिन सङ्क्रमित हुने र मृत्यु हुनेहरुको सङ्ख्या डरलाग्दो गरी बढिरहेको अति संवेदनशील अवस्थामा ओली सरकारले नागरिकहरुको उपचार गर्न नसक्ने गरेको घोषणालाई अत्यन्त गैरजिम्मेवारपूर्ण र जनविरोधी घोषणाको संज्ञा दिंदै सरकारको यस्तो अभिव्यक्तिको घोर विरोध एवम् भत्र्सना गरेको छ । 

आइतबार पार्टी महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा यस्तो गंभीर स्थितिमा देशका सरकारी तथा निजी सबै अस्पतालहरुमा कोभिड नियन्त्रणका लागि आवश्यक जनशक्ति, उपचार सामग्री र अन्य साधनहरुको व्यवस्था गरी संक्रमितहरुको निशुल्क उपचार गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा लकडाउनका कारण हातमुख जोड्न समेत अप्ठ्यारोमा परेका सबैको र मुख्यतः असङ्गठित क्षेत्रमा कामगर्ने मजदुरहरुको जीवन बचाउनका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग विशेष माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला देशमा कोभिड–१९को दोस्रो लहर फैलिरहेको छ । प्रतिदिन संक्रमित हुने र मृत्यु हुनेहरुको सङ्ख्या डरलाग्दोगरि बढिरहेको छ । यस्तो अति संवेदनशील अवस्थामा ओली सरकारले नागरिकहरुको उपचार गर्न नसक्ने घोषणा गरेको छ । यो उपचारको नाममा निजी अस्पतालहरुलाई ब्रह्मलुट गर्न अवसर मिलाइदिनका लागि सरकारले गरेको अत्यन्त गैरजिम्मेवारपूर्ण र जनविरोधी घोषणा हो । हाम्रो पार्टी सरकारको यस्तो अभिव्यक्तिको घोर विरोध र तीव्र भत्र्सना गर्दछ ।
यस्तो गंभीर स्थितिमा देशका सरकारी तथा निजी सबै अस्पतालहरुमा कोभिड नियन्त्रणका लागि आवश्यक जनशक्ति, उपचार सामग्री र अन्य साधनहरुको व्यवस्था गरी संक्रमितहरुको निशुल्क अपचार गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ । साथै लकडाउनका कारण हातमुख जोड्न समेत अप्ठ्यारोमा परेका सबैको र मुख्यतः असङ्गठित क्षेत्रमा कामगर्ने मजदुरहरुको जीवन बचाउनका लागि राहतको व्यवस्थागर्न सरकारसँग विशेष माग गर्दछ ।

यस्तो गंभीर स्थितिमा संक्रमितहरुको उपचारको व्यवस्था मिलाउन र लकडाउनका कारण विचल्लीमा परेका सबैको सहयोगका लागि आवाज उठाउन हाम्रो पार्टी सामान्यतः आम जनतामा र विशेषतः पार्टीका सम्पूर्ण कमरेडहरुमा विशेष अनुरोध गर्दछ ।’