-एन बि विश्वकर्मा
तिमीले धर्तीमा टेकेको दिन
हर्षका साथ तिम्री आमाले
देखेकी थिइन् सुन्दर सपना
लिएकी थिइन् मनमा अठोट
प्राणतुल्य आफ्नो सन्तानलाई
संसारकै असल मान्छे बनाउने ।
एउटै प्रण लिएर निरन्तर
अनेकौं कष्टहरु सहेर
बर्षौँ बर्ष गुजारिन
तिम्रो लालन पालनमा
तिम्रो शिक्षा दीक्षामा ।
सहज बनाएर
हजारौं अभावहरुलाई
आँसु पिइन् तिम्रो लागि
कहिल्यै खाइनन् हरेस
जीवित बनाइरहिन्
आमाले ती सपनाहरूलाई ।
आमाका ती सपनासंगै
तिम्रो अस्तित्व
अनि स्वर्णिम भविष्य
नङ र मासु जस्तै जोडिएको छ
संगै गाँसिएका छन्
समाज परिवर्तनका सवालहरु ।
आमाका ती सपनाहरूमाथि
मडारिन थालेका छन्
अड्चनरूपी कालो बादल
रचिदैंछन् यावत षड्यन्त्रहरु
असम्भव र असफल बनाउन
खेलिदैछ अनेकन खेल
तिमी निकै सचेत हुनुपर्नेछ
सफल बनाउनका लागि
आमाका ती सपनाहरू
खट्नुपर्नेछ अहोरात्र
हटाउनै पर्नेछ
यात्राका सम्पूर्ण अवरोधहरू ।
हिम्मत हार्न पाइनेछैँन
आशा मार्न पाइनेछैँन
गर्नै पर्नेछ सङ्कल्प
साकार पार्न आमाको सपना
प्राप्तिका लागि
त्यो उज्यालो गन्तव्य ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्