मंसिर २९, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी नवलपुरले गाउँ नगर स्तरिय आधारभूत स्कूलिङ कार्यक्रम सम्पन्न गरेको बताएको छ ।
जिल्लाको सुदूर गाउँमा जनताको घरमा गरिएको स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज धु्रवले कार्यकर्ताको वैचारिक क्षमता अभिवृद्धि र कार्यकर्तालाई क्रान्तिप्रति समर्पित गर्न प्रेरित गर्नका लागी स्कूलिङको आयोजना गरिएको बताए । इन्चार्ज धु्रवले महान जनयुद्धको बाँकी कार्यभार पुरा गर्न एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा सहित पार्टीले वैज्ञानिक समाजवादको पक्षमा संघर्ष गरिरहेको भन्दै त्यसका लागी राजनीतिक वैचारिक बिषयलाई जनतासम्म पुर्याउन जरुरी रहेको समेत बताए ।
नेकपा लुम्बिनी ब्युरो स्कूलिङ विभागका प्रमुख सुमन नेपालीले दक्षिणपन्थी संशोधनवाद, विसर्जनवाद र अकर्मण्यतावादको जगमा उभिएको पुरानो स्कुललाई भंग गरी पार्टीले नयाँ कम्युनिस्ट स्कूलको स्थापना गरेको भन्दै स्कूलमा नयाँ पार्टी सदस्यलाई भर्ना गरेर मालेमावादका आधारभूत शिक्षा दिन जरुरी रहेको बताए । कार्यक्रममा नवलपुर जिल्ला सेक्रेटरी शितल, युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अविनाश, नेकपा जिल्ला सदस्य विशाललगायतले स्कुलिङको महत्वका वारेमा बोलेका थिए ।
स्कूलमा मालेमावादका तीन संघटक अंग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्रलगायतका बिषयमा प्रशिक्षण गरिएको नेकपा नवलपुर स्रोतले बताएको छ । स्कुलिङ कार्यक्रममा गाउँ र नगरका करिब २ दर्जन नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।
स्कुलिङमा सहभागिता प्रशिक्षार्थीहरुले प्रशिक्षणमा मालेमावाद र एकीकृत जनक्रान्तिबारे लिइएको ज्ञान कम्युनिस्ट पार्टी निर्माण गर्न र क्रान्ति सम्पन्न गर्नका लागी महत्वपूर्ण पाठशाला भएको बताएका थिए ।
प्रतिक्रिया राख्नुहोस्