गुल्मी । गुल्मीका युवा फुटबल खेलाडी मोहन तरामु मगरको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । तरामु अहिले आर्थिक अभावका कारण उपचार गर्न नसकेर अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा छन् ।
सत्यवति गाउँपालिका – ३, ठुलोलुम्पेक स्थायी घर भई लामो समयदेखि तम्घासमा बस्दै आएका २६ बर्षीय तरामकोु शुक्रबार खोलामा पौडिने क्रममा टाउको ढुङ्गामा ठोकिएर टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको अहिले छातीदेखि तलको भाग नचलेर अचेत जस्तै छन् ।
तरामुलाई बचाउन उनको परिवार र खेलाडीहरु सडकमा चन्दा संकलन गरिरहेका छन् । मोहनका बुवा पुर्णबहादुर तरामुले अस्पताल भर्ना गरेर शल्यक्रियाको तयारीमा रहेको बताए । उनले भने, ‘छोरा बोल्दैन, अस्पतालले भर्ना गरेर शल्यक्रियाको लागि रकम मागेको छ । पैसा जुटाउन नसकेर केही भन्न सकेको छैन ।’
फुटवल खेलाडी सागर आलेले खेलाडी मैदानको गोटी मात्रै भएको प्रतिक्रिया दिए । उनले भने, ‘खेलाडी घाइते भएर ढल्यो उपचार गर्न चन्दा उठाउनुपर्ने कस्तो बिडम्बना ! खेलाडी खेल मैदानका लागि मात्रै भए ।’
पत्रकार महासंघ गुल्मीले मोहनको लागि २५ हजार आर्थिक सहयोग गरेर सबैमा उपचारको लागि सहयोग गर्न अपिल गरेको छ । महासंघले खेलाडीको सम्पूर्ण उपचार सरकारले गर्न ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खेलाडी घाइते भएको बिषयमा प्रहरीलाई समेत जानकारी नभएकाले आफूले उपचारको बिषयमा समन्वय र सहजीकरण गर्ने बताइएको छ ।
मोहन तरामु फुटबलका अब्बल खेलाडी हुन् । जो चिदिचौरमा फुटवलसँग कुद्दा कैयौले हुटिङ गर्थेे । कम बोल्थे । खेलमै धेरै परिश्रम गर्थे । त्यसैले उनी कुमारी र आसिटी क्लवबाट बि डिभिजनमा राम्रो खेल खेले । त्यो बाहेक जिल्लामा रेसुंगा र पुल्चोक, फोर्टिन स्टार लगायतका क्लवमा थुप्रै खेलहरु खेलेका छन् । साथै कैयौ फुटबल प्रतियोगितामा कोच र रेफ्रीको रुपमा पनि काम गरिसकेका छन् । उनै खेलाडी अहिले अस्पतालको बेडबाट प्राण मागिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्